शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कांग्रेसमा १६ आकांक्षी, आन्तरिक चुनावबाट तीनजना छानिने

कांग्रेसमा १६ आकांक्षी, आन्तरिक चुनावबाट तीनजना छानिने

नेकपामा पनि उस्तै


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७६, बुधबार

पोखरा,२९ असोज – देशकै ध्यानकेन्द्रित कास्की २ को प्रतिनिधीसभा निर्वाचनमा कांग्रेसबाट १६ जनाले निर्वाचन लड्ने आकांक्षा देखाएका छन् । चुनाव आउन अझै डेढ महिना बाँकी छ । चुनाव नजिकिँदै जाँदा ठुला पार्टीभित्र आकांक्षीहरु खुल्न थालेका छन्, भने उम्मेदवारको सकस पनि उत्तिकै छ ।
यस क्षेत्रबाट चुनाव जितेका रविन्द्रको गएको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि निधन भएपनि यो क्षेत्र रिक्त छ र यहाँ आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उनै रविन्द्रले २०७४ को चुनावमा निकटतम् प्रतिष्पर्धी कांग्रेसका देवराज चालिसेलाई झन्डै ९ हजार मतान्तरले हराएका थिए ।
निर्वाचनमा पराजित चालिसेसँगै उपनिर्वाचनमा १६ जना आकांक्षी देखिएका छन् । कास्की कांग्रेस सभापति कृष्ण केसीले अहिलेसम्म १६ जनाले आकांक्षा देखाएको बताए । आकांक्षीको संख्या धेरै भएतापनि टिकट भने एकजनाले पाउनेछ, जसको टुंगो केन्द्रले लगाउनेछ ।
“हामीलाई उम्मेदवार टुंग्याउने अधिकार छैन, तीन जनासम्मको नाम सिफारिस गरेर पठाउने भनेको छ, हामीले यसको अख्तियारी क्षेत्रीय कार्यसमितिलाई दिएका छौँ, सम्भवतः यही महिनाभित्रै तीनजना उम्मेदवारको छनोट होला ।” उनले भने ।
क्षेत्रीय सभापति माधव बास्तोलाले भनेँ, “हामी अहिले आन्तरिक गृहकार्यमा छौँ, कोको आकांक्षी हुनुहुन्छ बुझ्न खोजेका हौँ, कांग्रेस ठुलो पार्टी हो, आकांक्षा पनि धेरैले नै देखाउनुभएको छ ।”
आकांक्षीको नाम नभनेतापनि उनले अघिल्लो निर्वाचनका उम्मेदवार देखि नयाँ अनुहारसम्मले निर्वाचन लड्ने चाहना देखाएको बताए । “पुरानादेखि नयाँ अनुहार पनि उत्तिकै हुनुहुन्छ, धेरै उम्मेदवार भएतापनि हामीले सकेसम्म सहमतिबाटै टुंगो लगाएर जिल्लालाई सिफारिस गर्ने हो, अन्यथा लोकतान्त्रिक प्रक्रिया त छँदैछ ।”
यही महिनाभित्रै तीनजना उम्मेदवार जिल्लालाई सिफारिस गरिसक्ने उनले दाबी गरे ।
जिल्ला सभापति कृष्ण केसीले पनि क्षेत्रले सिफारिस गरेपछि कात्तिक १÷२ गतेभित्रै केन्द्रमा सिफारिस गरिसक्ने बताए ।
“हामीले केन्द्रको पत्र प्राप्त भएपछि जिल्ला कार्य समितिको बैठक बसेर उम्मेदवार छनोटको बैठक बसेर क्षेत्रलाई दिईएको छ । केन्द्रको परिपत्र अनुसार क्षेत्रले सिफारिस गरेका उम्मेदवार हामीले केन्द्रमा पठाउनेछौँ ।” उनले भने ।
यसको लागि उक्त क्षेत्रको क्षेत्रीय समिति आकांक्षी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, भातृ तथा शुभेच्छुक संघसंगठन सँग छलफल र सरसल्लाह गरिएको उनले बताए ।
निर्वाचनको आन्तरिक तयारी भने भईरहेको उनले जानकारी दिए । “आन्तरिक संगठन परिचालन, व्यवस्थित र पार्टीका हरेक इकाइका कार्यकर्ता बिच जाने, छलफल चलाउने कार्य भईरहेको छ, अघिल्लो निर्वाचनमा जाँदा गुमेको परिणाम फिर्ता ल्याउने गरि महत्व दिएका छौँ ।” केसीले जानकारी दिए ।
निर्वाचनमा पराजित भएतापनि पाँच वर्षसम्मको उम्मेदवार आफू नै भएको तर्क देवराज चालिसेले गर्दै आएका छन् । उनीसँगै महासमिति सदस्य ऋषि काफ्ले पनि आकांक्षीको दौडमा छन् । कांग्रेसमा शोभियत बहादुर अधिकारी, विरेन्द्रनारायण बिजुक्छे, विजय आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे लगायतले टिकट दाबी गर्दै आएका छन् ।
नेकपामा पनि उस्तै
अघिल्लो निर्वाचनको साख जोगाउने र सरकार लोकप्रिय रहेको सन्देश दिन कास्की नेकपालाई अहिले सबैभन्दा ठुलो चुनौती छ । त्यसकारण पनि नेकपा संयमित भएरै चुनावी प्रचारमा लागेको छ । विभिन्न संगठनको चुनावमा नेकपाको लगातार पराजय, दुई पार्टी एकीकरण पछिको पहिलो उपनिर्वाचन, त्यसमाथि पनि प्रतिनिधीसभा निर्वाचनको एकमात्रै क्षेत्रमा साख जोगाउनु नेकपाको मुख्य चुनौती हो ।
यहाँबाट तत्कालीन एमालेका रविन्द्र अधिकारीले चुनाव जितेका थिए । अहिले पनि नेकपाभित्र साविकको एमालेबाटै उम्मेदवार बनाउनुपर्ने पक्षमा पूर्वएमाले नेताहरु लागिपरेका छन् । यहाँका नेकपाका अध्यक्ष कृष्ण थापा पनि पूर्व एमालेकै हुन् । उनी प्रदेशसभा सदस्य समेत हुन् ।
दशैँलगत्तै आकांक्षी छान्ने र केन्द्रमा पठाउने भनिएतापनि हालसम्म आकांक्षी उम्मेदवारको विषयमा छलफलै नभएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा बताउँछन् । “उम्मेदावरकै बारेमा त छलफल भएको छैन, जिल्लाको बैठक पनि बसेका छौँ तर आन्तरिक काम मात्र भएको छ ।” उनले जानकारी दिए ।
थापाका अनुसार १० दिनभित्रै आकांक्षीलाई केन्द्रमा सिफारिस गरिने उनले जानकारी दिए । “कोको आकांक्षी हुनुहुन्छ, सोध्ने प्रक्रिया सुरु भएको छ, हेरौँ, आगामी १० दिनसम्ममा सबै टुंगिएला ।” थापाले भने ।
नेकपामा सुरुमा नेकपा उपाध्यक्ष बामदेव गौतम लड्ने चर्चा र नेकपाकै अध्यक्षद्वयले समेत समर्थन गरिसकेको हल्ला भएतापनि उक्त हल्लाको स्वयम गौतमले नै खण्डन गर्दै चुनाव नलड्ने घोषणा गरिसकेका छन् । रविन्द्रपत्नी विद्या भट्टराई अहिलेसम्म चुनाव लड्ने वा नलड्ने निर्णयमा पुग्न सकेकी छैनन् । पार्टीको निर्देशन र निर्णय अनुसार गर्ने भन्ने उनले तयारी जवाफ छ ।
यसबाहेक नेकपामा सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की लगायतको चर्चा भइरहेको छ । पूर्व माओवादी केन्द्रबाट प्रदेशसभामा पराजित राजकाजी गुरुङ (करण) कास्की २ ‘ख’ बाट पराजित प्रदेशसभा सदस्यका उम्मेदवार समेत हुन् ।
१२२० मतदाता थपिए
मंसिर १४ गतेको उपनिर्वाचनमा ७१ हजार आठ सय ७१ जनाले मतदान गर्न पाउने भएका छन् । यो संख्या २०७४ को चुनाव भन्दा एक हजार दुई सय २० जनाले बढि हो । ०७४ को चुनावमा ७० हजार छ सय ५१ जना मतदाता यो क्षेत्रमा थिए ।
जिल्ला निर्वाचन कार्यालय कास्कीले उपनिर्वाचनको लागि मतदाता नामावली संकलन गरेको थियो । कार्यालयका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन हुँदा यस क्षेत्रमा ७१ हजार आठ सय ७१ जनाले मतदान गर्न पाउनेछन् ।
जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले निर्वाचनका लागि अन्य कार्यहरु पनि भईरहेको जानकारी दिए । “आन्तरिक तयारी हुँदैछ, निर्वाचन सामाग्रीहरु खरिद गर्ने जम्मा गर्ने कार्य हुँदैछ । कर्मचारी आवश्यकताको विषयमा पनि गृहकार्य गदैछौँ ।” सुवेदीले भने ।
यस क्षेत्रमा ३२ मतदान स्थल तथा ८२ वटा मतदान केन्द्र रहनेछन्, भने हरेक केन्द्रमा ७÷८ जनाका दरले कर्मचारी आवश्यक पर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मंसिरमा हुने उपनिर्वाचनमा ३३ हजार एक सय छ जना पुरुष र १८ हजार सात सय ६४ जना महिला मतदाताले भाग लिनेछन् । एकजना तेश्रो लिङ्गीले पनि मतदान गर्न पाउनेछन् ।
वडा नं. १७ स्थित पार्दी माविको मतदान केन्द्रमा सबैभन्दा बढि ५०२८ जना मतदाता रहेका छन्, भने वडा नं. १६ को दिपज्योती आधारभूत विद्यालयको केन्द्रमा मा सबैभन्दा कम सात सय आठ जनामात्रै मतदाता रहेका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडालाई राखेर २ नम्बर क्षेत्र बनाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->