म्याग्दी, १० कात्तिक – जताततै तिहारको रौनक शुरु भएको छ । तर, असोज २१ गते वडादशैंको दिन परेको भीषण असिनाले चुटेर धानवाली सखाप पारीदिएको बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरुलाई भने असिनाबाट बचेको धान पराल थन्काउन भ्याइनभ्याइ छ ।
म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरु यतिबेला धानपराल गर्न व्यस्त छन् । मौसममा देखिएको परिवर्तनसंगै उनीहरुलाई असिनाबाट बचेको धान पराल थन्काउने चटारो परेको हो ।
तिहारले छोइसकेपनि यहाँका किसानहरु काममा नै व्यस्त छन् । ‘तिहारको कुनै रौनक छैन, असिनाले धान सखाप पारेपछि वर्षभरी के खाने भन्ने चिन्ताले सबै पिरोलिइ रहेका छन् ।, बेनी नगरपालिका २ गौश्वाराका यदिनाथ रिजालले भने ।
कृषक रिजालका अनुसार पहिला २० मुरी धान फल्ने खेतमा यसपाली असिनाले चुटेर १ मुरी पनि छैन । तैपनि पराल थन्काउनका लागि ३ जना खेताला हालेर काम गर्नुपरेको छ ।
ज्यामरुककोटमा वडादशैंको दिन परेको असिनाले २ करोड भन्दा बढि क्षति भएको कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत अनुगमन गरी निकालेको क्षतिको विवरणमा उल्लेख छ । किसानहरुले क्षतिपुर्तिको माग गरेका छन् ।
ज्यामरुककोटको गौश्वारा,सानालेख,भकुण्डे,काउनखर्क,तमाने र फापरखेतमा असिनाले धान लगाएतको वर्षेवालीमा ठूलो क्षति पुर्याएको थियो । अहिले यहाँका किसानहरु बचेको वाली भित्राउन व्यस्त भएका हुन् ।





