पोखरा, १२ कात्तिक -पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकले सप्तरंगी टीका लगाएर तिहार मनाएका छन् । भाइटीको अवसरमा पश्चिमाञ्चल होटल संघ पोखराले आमंगलबार योजना गरेको १२ औं भाइटीका महोत्सवमा पर्यटक रमाएका हुन् । महोत्सवमा सहभागी १२ देशका ३० पर्यटकले टीका लगाए । उनीहरुले टीका मात्र लगाएनन् देउसी र भैलोसमेत खेलेर रमाइलो गरे । भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षका पर्यटक दोहो¥याएरसमेत टीका लगाउन पोखरा आउन थालेका छन् ।
फ्रान्सकी मिसेल मोजा ८ औं पटक पोखरामा भएको भाइटीका महोत्सवमा सहभागी भएकी छन् । यस वर्ष उनी छोराबुहारी र नातीनातीनासहित तिहार मनाउन नेपाल आएकी हुन् । महोत्सवमा भाग लिएर नेपाली परम्परा अनुसार तिहारमा टीका लगाउन पाउँदा आफूले निकै नौलो अनुभव गरेको महोत्सवमा सहभागी फ्रान्सका मोजो इमानुअलले बताए ।
महोत्सवमा रेन्वो चिल्ड्रन होमका वालिकाले पर्यटकलाई टीका लगाइदिएका थिए । पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टीका लगाएर उपहार दिएका थिए । पर्यटकले पनि बालिकाहरुलाई दक्षिणा दिएका थिए । पर्यटकले देउसी भैलो र सांस्कृतिक कार्यक्रममा भरपुर मनोरञ्जन लिए । सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए ।





