शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अपराध अनुसन्धानमा उत्कृष्ट, जुवाको पैसाले निलम्बनमा

अपराध अनुसन्धानमा उत्कृष्ट, जुवाको पैसाले निलम्बनमा

जुवाडेले नै खोले पोल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७६, शनिबार

पोखरा,१६ कात्तिक – अपराध अनुसन्धानमा प्रदेशकै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित एक प्रहरी सहायक निरिक्षक निलम्बनमा परेका छन् । निलम्बनमा परेका असई सन्तोष सुवेदी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए ।

सुवेदी गत असोज २५ गते ६३ औँ प्रहरी दिवसमा अनुसन्धान विधामा प्रदेशकै उत्कृष्ट हुँदै प्रहरी प्रधान कार्यालयबाट सम्मानित समेत भएका थिए ।

यस्तै, गएको जेठ २९ मा पोखरास्थित उत्तमचोकमा मध्यदिनमा प्रहरीले गोली चलायो । प्रहरीले लागुऔषध कारोबारीसँगको प्रतिकारमा गोली चलाएको बतायो । त्यतिबेला प्रहरीको नेतृत्व उनै सुवेदीले गरेका थिए । प्रहरीको समूहले क्याफेमा रहेका लागुऔषध कारोबारीलाई गोली चलाएको थियो । उक्त घटना पनि प्रहरीले स्टन्ट देखाउन खोजेको भन्दै विवादित बनेको थियो ।

कास्की प्रहरीका ठुला सफलतामा समेत सुवेदीले नेतृत्व गरेका छन् । गतसाल श्रेया सुनारको बलात्कार पछिको हत्यामा कास्की प्रहरीले २४ घण्टामै सफलता पायो । बैदाम प्रहरीले उक्त घटनाको छानविन नेतृत्व लिएतापनि जिल्लाबाट खटिने प्रहरीमा सुवेदी समेत थिए ।

उनै सुवेदी अहिले जुवाको रकम लुकाएपछि निलम्बनमा परेका छन् ।

यस्तो छ घटना,

कास्की प्रहरीले दशैँतिहारको अवधीमा जुवा अपरेसन नै सञ्चालन ग¥यो । दिनहुँजसो जुवाडेहरु पक्रिए र उनीहरुबाट सानोठुलो रकम पनि बरामद भयो । अपरेसनकै क्रममा कात्तिक ९ गते शनिबार प्रहरीले एउटा सूचना पायो । सूचना थियो, ‘लेकसाईडको होटल क्रिष्टल प्यालेसमा जुवाखाल जमेको छ ।’

सूचना पाएपछि घुमुवा प्रहरी टोली सिभिल पोशाकमा होटेलतर्फ लाग्यो । टोलीनाईके थिए, उनै सुवेदी, साथमा प्रहरी जवानद्वय जीवनाथ लामिछाने र अनिल ढकाल ।

उनीहरु घटनास्थल पुगे, होटेलको  कोठा नं.४१३ मा जुवाडेहरुको खाल जमिरहेको थियो । जुवाडेहरु भेटिएपछि उनीहरुले अर्को टोलीलाई खबर गरे ।

जुवाडेले नै खुलाए पोल

जिल्ला प्रहरी कार्यालयले उक्त होटेलमा ९ जना जुवाडेबाट दश लाख ५८ हजार पाचँ सय १० रुपैयाँ बरामद गरिएको जनायो । ९ गते रातीको यो घटनामा तीनजना प्रहरी समेत फसे । प्रहरी किन फसिए त ?

मुचुल्का टोली जाँदा जुवाडेबाटै पोल खुल्यो ।

प्रहरी स्रोत भन्छ, “जुवाडेहरु पक्रिएपछि र मुचुल्का टोली नआउँदै सिभिल प्रहरीले जुवाडेबाट बरामद भएको रकम लुकाएको रहेछ ।”

मुचुल्का गराउने बेलामा कम रकम देखिएपछि पक्राउ भएका जुवाडेले नै जुवामा बढि रकम भएको बताए । त्यसपछि मुचुल्का टोलीले नै सिभिलमाथि तत्काल छानविन ग¥यो । छानविन गर्दा घुमुवा टोलीका नाईके प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदीको खल्तीबाट २६ हजार रुपैयाँ नगद भेट्टायो । टोलीले प्रयोग गरेको स्कुटरको डिक्कीबाट एक लाख २० हजार पाँच सय रुपैयाँ बरामद भयो ।

प्रहरी स्रोतका अनुसार उक्त दिन सुवेदीको स्कुटरमा सादा पोशाकका दुईजना प्रहरी जवानले रकम राख्दै गरेको समेत भेटिएको छ ।

बैदाम प्रहरीले थाहै पाएन

घटना हुने क्षेत्र बैदाम प्रहरी कार्यालय अन्तर्गत पर्दछ । उक्त लेकसाईड संवेदनशील क्षेत्र र त्यसमाथि चाडपर्व भएका कारण प्रहरीले सुरक्षा व्यवस्था कडा पार्छ, गस्ती गर्छ । तर, उक्त घटना हुँदा बैदाम प्रहरीले भने जानकार नभएको बतायो ।

बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले भने आफूलाई थाहा नभएको र जिल्लाले हेरेको बताए । उनले भने, “मलाई थाहा छैन, जिल्ला पनि गएको छैन, हल्लामात्रै सुनेको हुँ ।”

जुवाडे भन्छन्, प्रहरीले धेरै रकम लुकाएका छन्

पक्राउ परेपछि जुवाडेहरुले आफन्तलाई फोन गरे । जुवाखालमा बरामद भएको रकमबारे पनि बताए । पक्राउ परेका जुवाडेका अनुसार करिब १७ लाख रुपैयाँजति खालबाट बरामद भएको थियो । जुवाडेहरुका आफन्तले भने करिब १७ लाख रुपैयाँ त्यहाँ भएको दाबी गरिरहेका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजुकमार केसीले प्रारम्भिक अनुसन्धानमा उनीहरु दोषी भेटिएकाले निलम्बन गरिएको र थप अनुसन्धान भइरहेको बताए । प्रवक्ता केसीले उनीहरु अब प्रहरी नरहेको र आवश्यक परेमा जुनसुकै समयमा पनि नियन्त्रणमा लिएर कारवाही गर्न सकिने जानकारी दिए ।

असई सुवेदीसँगै प्रहरी जवान अनिल ढकाल र जीवनाथ लामिछाने पनि निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->