शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बिरामी पार्वती र उनका छोरा दीपेन्द्रको उपचार नेलम्बोले गर्ने

बिरामी पार्वती र उनका छोरा दीपेन्द्रको उपचार नेलम्बोले गर्ने


  • Dhorpatan News
  • कार्तिक १६ २०७६, शनिबार

पोखरा, १६ कात्तिक – मानसिक सन्तुलन गुमाएकी पार्वती नेपाली र पक्षघातबाट पीडित उनका छोरा दीपेन्द्रको उपचार हुने भएको छ । नाजुक आर्थिक अवस्थाले उपचार नपाएका माछापुच्छे« गाउँपालिका–६ हेमजाकोटका आमा छोराको उपचार पोखरामा रहेको संस्था नेलम्बो नेपालले गर्ने भएको हो ।
बिरामी आमाछोराको नाजुक अवस्थाको बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । सात वर्षअघि दीपेन्द्रलाई पक्षघात भएपछि रकम अभावकै कारण उपचार हुन सकेको थिएन । छोराकै पीरले पार्वतीले ४ वर्षअघि मानसिक सन्तुलन गुमाइन् । दीपेन्द्र २१ वर्ष पुगे । पार्वती ४५ वर्ष पुगिन् । उनका श्रीमान् बितिसकेका छन् । आम्दानीको स्रोत नहुँदा खानलाउनै धौधौ छ ।
नेलम्बो नेपालले शनिबार हेमजाकोटमा रहेको उनीहरुकै घर पुगेर विभिन्न सामग्री सहयोग गरेको छ । संस्थाले ब्ल्यांकेट, चामल, दाल, नुन, तेल, अण्डा, मसलालगायत खाद्यान्न सहयोग गरेको हो । सहयोग हस्तान्तरण गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थाकै पहलमा आमा छोराको उपचार गर्ने बताए । ‘उहाँहरु उपचार पश्चात निको हुने देखिएको छ,’ उनले भने, ‘पोखरा लगेर उपचार गर्ने सम्पूर्ण जिम्मा संस्थाले लिन्छ ।’ उनले समुदायको सहयोगमा उपचारपछि उनीहरुलाई पुनस्र्थापित गरिने उल्लेख गरे ।
शनिबार नै नेलम्बो र स्थानीयको सक्रियतामा उपचार सहयोग समिति गठन भएको छ । वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा स्थानीय समाजसेवी खड्गबहादुर गुरुङ र सदस्यमा सुन्दर गुरुङ, राजाराम पौड्याल, दीपक परियार, विजयकुमार गुरुङ र नेलम्बोका प्रतिनिधि छन् । समितिले पार्वती नेपालीको बैंक खाता खोली सहयोग अभियान सञ्चालन गर्ने भएको छ । वडाध्यक्ष ढुंगानाले दीपेन्द्रको नागरिकताको प्रमाणपत्र बनाउन पहल गर्ने जनाए ।
नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइरालाले शिक्षा, स्वास्थ्य र सचेतनासँग सम्बन्धित रहेर काम गर्ने संस्था भएकोले उनीहरुको उपचारमा चासो दिएको बताए । उनले हेमजाकोट आफ्नो संस्थाको कार्यक्षेत्र समेत भएको र विभिन्न समयमा स्वास्थ्य शिविर आयोजना गरेको उल्लेख गरे । आइतबार नै आमा छोरालाई पोखरा ल्याएर उपचार सुरु गर्ने उनले जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->