मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

स्थानीय जातका गाई संरक्षण गर्न पर्वतमा महायज्ञ लगाईने

स्थानीय जातका गाई संरक्षण गर्न पर्वतमा महायज्ञ लगाईने


  • संजय रेग्मी
  • कार्तिक १७ २०७६, आइतबार

पर्वत,१७ कात्तिक – सामान्यतया धनधान्याञ्चल महायज्ञहरू विद्यालय तथा क्याम्पसको आर्थिक अवस्था बलियो बनाउनका लागि लगाउने गरिएको छ । तर पर्वतमा भने फरक खालको धनधान्याञ्चल विराट महायज्ञको आयोजना गरिने भएको छ ।

लोप हुने अवस्थामा रहेका स्थानीय जातका गाईहरूको संरक्षण र तिनीहरूको महत्व बाहिर ल्याउनका लागि जिल्लाको जलजला गाउँपालिका ७ मिलन चोकमा आउँदो मङ्सिरमा महायज्ञ गर्न लागिएको हो । जलजला गाउँपालिकाकै धाईरिङमा ४ वर्ष अगाडि गाईको संरक्षण, प्रवर्द्धन र व्यवस्थापन गर्नको लागि स्थापना गरिएको गौशालाको थप व्यवस्थापन गर्न अक्षयकोष निर्माण गर्ने उद्देश्यले मङ्सिर १९ देखि २६ गतेसम्म महायज्ञ लगाउन लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष राजु आचार्यले बताए । उक्त गौशाला २०७२ सालमा स्थानीय गाईको संरक्षण गर्नकै लागि स्वामी कमलनयन आचार्यको पहल र स्थानीयको सक्रियतामा निर्माण गरिएको थियो ।

स्थानीय जातका गाईहरूबाट धेरै दूध उत्पादन नहुने, खेतबारी जोत्नका लागि गोरुको भन्दा मसिनको प्रयोग हुँदै जानु, चरन क्षेत्र साँघुरिँदै जानु लगायतका कारण पछिल्लो समय स्थानीय जातका गाई पाल्ने प्रचलन हटिसकेको अवस्था छ । हिजोआज पूजाआजामा गाईको दूध चढाउनुपर्ने र तिहारमा गाईको पूजा गर्नुपर्ने भएकोले यदाकदा मात्रै गाई पाल्ने गरिएको छ । दूधको कारोबार गर्दै आएका व्यावसायिक कृषकहरूलाई स्थानीय जातका गाई पाल्दा फाइदा नहुने भएकोले विकासी जातका गाई पाल्ने क्रम भने बढेको छ ।

विकासी जातका गाईहरूले स्थानीय जातका गाईहरूको अस्तित्व खतरामा पारेका कारण स्थानीय गाईको संरक्षण गर्नका लागि निर्माण गरिएको उक्त गौशालामा अहिले ३५ ओटा गाई पालिएका छन् । उक्त गौशालामा पर्वत जिल्ला सहित छिमेकी जिल्लाहरू म्याग्दी र बागलुङमा पनि जथाभाबी छोडिएका स्थानीय गाईलाई लगेर पाल्ने योजना बनाइएको छ । ‘हिन्दु धर्म र संस्कृतिमा गाईलाई अपरिहार्य प्राणीका रूपमा लिने गरिएको छ, त्यसमा पानी गाई त हाम्रो राष्ट्रिय जनावर पनि हो ।’ मूल आयोजक समितिका अध्यक्ष आचार्य भन्छन्, ‘हामीले दूध र घ्यू बेचेर पैसै कमाउने बाटोमा मात्रै पनि गाईलाई राख्नु हुँदैन, धर्ममा विश्वास गरिन्छ भने स्थानीय गाईको संरक्षण पनि आवश्यक छ ।’

महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचन, गाई पूजा, झाँकी र भजन प्रस्तुत गरिने छ । महायज्ञबाट झन्डै ५ करोड रुपैयाँ बचत गर्ने र त्यो रकमबाट गौशालाको क्षमता अभिवृद्धि गरेर दुई हजार भन्दा बढी गाई पाल्न सकिने बनाउने उद्देश्य राखिएको महायज्ञ आयोजक समितिका आर्थिक संयोजक डण्डपाणी रिजालले जानकारी दिए । उनका अनुसार गौशालामा राखिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरूका लागि बिक्री गर्नुका साथै गोबरलाई कम्पोस्ट मल बनाएर बिक्री गर्ने उद्देश्य राखिएको छ ।

महायज्ञले गाईको महत्व र संरक्षणका लागि मात्र नभई जलजला क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनालाई पनि अगाडि ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->