पोखरा,२५ कात्तिक – एकजना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कास्की २ मा हुने प्रतिनिधीसभा निर्वाचनमा २१ जनाले भाग लिने भएका छन् । जसमध्ये १० जना स्वतन्त्र उम्मेदवार छन्, भने ११ वटा राजनीतिक दल चुनावमा सहभागी हुनेछन् ।
आफ्नो उम्मेदवारी फिर्ता लिने उम्मेदवार पुरुषोत्तम खनाल हुन् । आइतबार दिउँसो १ बजेसम्म उम्मेद्वारी फिर्ताको समय राखिएकोमा खनालले मात्र फिर्ता गरेको कार्यालयले जनाएको छ । उनी स्याङजाका हुन् ।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट १३ जनाको उम्मेद्वारी परेको थियो ।
उम्मेदवारमध्ये ६ जना कास्कीभन्दा बाहिरका हुन् । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई चुनावी मैदानमा ओरालेको छ ।
समाजवादी पार्टीले सो क्षेत्रबाट धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, साझाले रजनी केसी, नेपाल कम्युनिष्ट पार्टी (माले) ले टेकनाथ भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गंगा मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीले पूर्णबहादुर राना, नेपाली कांग्रेस (विपी) ले चन्द्रबहादुर रानाभाट, मंगोल नेपाल अर्गनाइजेसनले रियाज गुरुङ र देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
विवेकशील पार्टीले कास्कीमा पत्रकार सम्मेलन नै गरि उम्मेदवारी घोषणा गरे पनि पार्टी दर्ता नभएकाले स्वतन्त्रबाट मनोनयन दिन बाध्य भयो । सो पार्टीको तर्फबाट जमुना शर्मा उम्मेदवार बनेकी छन् ।
यसैगरी स्वतन्त्रमा उमानाथ गौतम, कमलजंग कुवर, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला, सुनिल भुसालले उमेदवारी दर्ता गरेका छन् ।
तीन पार्टीले चुनावमा भाग लिन पाएनन
कास्की २ को उपनिर्वाचनका तीनवटा दलले भने उपनिर्वाचनमा भाग लिन नपाउने भएका छन् । २१ गते मनोनयन दर्तामा संघीय लोकतान्त्रिकले गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीले नवराज घले र मुक्ति आन्दोलन नेपाल पार्टीले जयवन्त विक्रम शाहलाई उम्मेदवार बनाएका थियो । शाह कास्कीका नै हुन, भने घले चितवन र लिम्बु तेह्रथुमका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले यी तीनैजना उम्मेदवारहरुको मनोनयन दर्ता गर्न नमिलेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय, कास्कीले उम्मेदवार मनोनयन नामावलीको कैफियतमा, “यी तीनै जनाको नाम समानुपातिकको बन्दसूचीमा नाम छ, सोहीकारण कम्प्युटर सिस्टममा प्रविष्टि भएको छैन् ।” भन्ने उल्लेख गरेको छ ।
लिम्बु गत २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा आदिवासी जनजाति तर्फ प्राथमिकता क्रम ३ र बन्दसूचीको क्रमसंख्या १३ मा उम्मेद्वार रहेको आयोगले जनाएको छ ।
त्यस्तै घले तत्कालिन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को प्राथमिकता क्रम १६ र बन्दसूचीको १०१ क्रममा समानुपातिकतर्फ आदिवासी जनजातिबाट उम्मेद्वार रहेको आयोगको सूचनामा छ ।
शाह पनि उक्त पार्टीबाट खसआर्यतर्फ उम्मेद्वार रहेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १४ को उपदफा २ र सोही ऐनको दफा ३० तथा उपनिर्वाचन निर्देशिका २०७६ को दफा ३० (४ं) बमोजिम उम्मेद्वारी बदर गरिएको निर्वाचन आयोगले जनाएको छ ।





