पोखरा,२९ कात्तिक – कास्कीको पर्यटकीय स्थल सिक्लेस र हुगुलाई जोड्ने यदी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
मादी गाउँपालिकाको विकास योजना र आर्थिक लगानीमा सो पुलको निर्माण भएको हो । नवर्निमत पुलको एक कार्यक्रमकाबीच प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले सिक्लेसी जनता, पर्यटक र खास गरि त्यस क्षेत्रमा गोठ गरेर बस्नेहरुलाई वर्षातको समयमा आवत जावतमा अत्यन्तै कठिनाई भईरहेको यदिखोलामा अब पुल निर्माण भएपछि सबैले हिउँद बर्खा ढुक्कसँग हिड्न सक्ने बताउए ।
पर्यटकीय दृष्टिकोणले असाध्यै संभावना बोकेको यदीमा व्यस्थित रुपमा पर्यटन व्यवसाय सञ्चालनका निम्ति स्थानिय जनता उत्साहित र अग्रसर भएर लाग्नुपर्ने उहाँको भनाई रहेको छ ।
यस्तै गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जनताको आवश्यकता र जनतालाई लाभहुने खालका विकास निर्माणमा गाउँपालिका लागिरहेको भन्दै गाउँपालिकाभित्र थुप्रै सामाजिक हित हुने विकासका कामहरु भईरहेको बताए ।
यदी खोला झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष इन्द्रजीत गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मादी १ का वडा सचिव सुर्य पोख्रोलले गरेका थिए ।
१ सय २० मिटर लम्बाई रहेको सो पुलको चौडाई १ सय ६ सेन्टिमिटर रहेको छ ।
करिब ५७ लाख २७ हजार ६६ रुपैंया १२ पैसाको लागतमा सो पुलको निर्माण कार्य सम्पन्न भएको समितिका अध्यक्ष इन्द्रजीत गुरुङले जानकारी दिए ।
पुलबाट ४ सय २५ घरधुरीका २ हजार ५ सय ५० जना स्थानीय लाभान्वित भएका छन ।





