पोखरा, ३० कात्तिक – नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेलले डाँडाखोरसम्म घरदैलो गरेका थिए । शुक्रबार बिहान मौजा आँटीघर लगायतका क्षेत्रमा घरदैलो गरेका हुन् । उनले चुनाव प्रचारमा घर–घरमा पुग्दा मतदाता सरकारप्रति निकै रुष्ट भएको जानकारी दिए । ‘भलाम क्षेत्रका मतदाता यो सरकारप्रति निकै रुष्ट बनेका रहेछन् । मेरो उपस्थितिले उनीहरू केही शान्त भएका छन्’, उम्मेदवार खेमराजले भलामको घरदैलो सकेर पोखरा फर्किएपछि भने, ‘म सधैं तपाइँहरूकै साथमा र सुखदुःखमा रहनेछु भनेर प्रतिवद्धता जनाएको छु ।’
घरदैलो अभियान समापन कार्यक्रममा संयोजक विन्दुकुमार थापाले कम्युनिष्ट सरकारको रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले जनताको आशा र भरोषाको पार्टी कांग्रेस नै भएको मतदाताले अभिव्यक्त गरेको बताए । सांसद विन्दादेवी रानाले जनताको पहरेदार पार्टी कांग्रेसमात्र भएको भन्दै सरकारलाई ठीक ठाउँमा ल्याउन पनि कांग्रेसले जित्नै पर्ने बताइन् । उनले राज्यको चौथो अंगलाई त जेल हाल्न सक्ने सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै यो सरकार संविधानको मर्म र भावना अनुसार चल्न नसकेको स्पष्ट पारिन् ।
वडासभापति चीनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेताहरू दीपक गुरुङ, इन्द्र सापकोटा, काशीराम गुरुङ, महिला नेतृ शकुन्तला गुरुङले पनि कार्यक्रममा बोलेका थिए ।
यता, पोखरा ११ मा पनि मतदाता भेटघाट कार्यक्रम सकिएको छ । शनिबार उम्मेदवारसहितको घरदैलो कार्यक्रम हुने चुनाव प्रचार समितिका सहसंयोजक एवं पार्टी सचिव सुदिप मोहन भट्टराईले जानकारी दिए । यस्तै, पोखरा–२१ मा पनि कांग्रेसले घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ । चुनाव प्रचार समितिका संयोजक गुरु बरालका अनुसार पार्टीका सबै संयन्त्रको भेला गरि विभिन्न समिति गठन गरि तिनै समिति चुनावमा परिचालित गरिएको छ । ‘वडाभित्र विभिन्न कलष्टर छुट्याएर मसिनो गरि चुनाप प्रचार र मतदाता भेटघाट गरेका छौं’, संयोजक बरालले भने । चुनाव प्रचारमा मतदाताको गुनासो सुन्ने काम गरिसकेको र अब पार्टीको प्रतिवद्धता लिएर पुनः एक पटक मतदाता भेट्ने योजना रहेको नेता बरालले बताए ।
उम्मेदवार पौडेललाई आइतीश्रीको आशिर्वाद
कांग्रेस उम्मेदवार खेमराज पौडेललाई वृद्धवृद्धाको आशिर्वादको ओइरो लागेको छ । शुक्रबार बिहान ७ बजे नै पोखरा–२० को मौजा आँटीघर पुगेका उम्मेदवार पौडेललाई १०६ बर्षीय आईतश्री दमिनीले चुनावमा विजयको आशिर्वाद दिएका छन् । उनले भनिन्, ‘तिम्रो मुहार उज्यालो पाएँ । शिर उँचो पाएँ । तिमीले चालेका सबै पाइला सबै पाइला सफल होउन्, आशिर्वाद छ ।’ त्यस बेला उम्मेदवार पौडेलले आइतीश्रीको पाउ छोएका थिए । पौडेलले पनि आइतीश्रीको सुस्वाथ्य र दीर्घायूको कामना गरेका थिए । धेरै वर्ष अघि चिनेकी खेमराजलाई आफ्नौ घरमा आईतश्री निकै खशी भईन् । उनले भनिन्, ‘चुनाव
जितेपछि हामीलाई नभल्नु है बाबु ।’ जवाफमा खेमराजले चुनाव पछि अवश्य भेट्न आउने बाचा गरे । उनले अहिलेसम्म ११ पटक मतदान गरिसकेकी छन् ।
उनीसंग मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि आएका छैनन् । उनले भनिन्, ‘मेरो पाउ छोएर भोट धेरैले मागे । मैले भोट पनि दिएँ तर जितेपछि अहिलेसम्म कोही पनि फर्किएर मलाई भेट्न आएका छैनन् ।’ ‘उम्मेदवार पौडेलले संस्कृत विद्या पढेका छन् । उनले झुटो बोल्न हुँदैन । त्यसैले उनी आउँछन् भन्ने विश्वास छ’, उनले भनिन् ।





