आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दुई प्रदेशका तीन स्थानीय तहबीच भगिनी सम्बन्ध !

दुई प्रदेशका तीन स्थानीय तहबीच भगिनी सम्बन्ध !

बागलुङको ताराखोला, तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाबीच भगिनी साइनो


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७६, शनिबार

बागलुङ, ३० कात्तिक – गण्डकी प्रदेशका दुई स्थानीय तह र ५ नं. प्रदेशका एक स्थानीय तहविच भगिनी सम्बन्ध स्थापित कायम भएको छ । गण्डकी प्रदेश अन्तरगत बागलुङको ताराखोला गाउँपालिकाले तनहुँको बन्दीपुर र ५ नं. प्रदेश अन्तरगत गुल्मीको धुर्कोट गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको हो । यी तीनवटा गाउँपालिकाले कृषि, पर्यटन, विकासको मोडल र लगानीको साझा एजेन्डामा छलफल र साझेदारीमा काम गर्ने सहमति गरेका हुन् ।
ताराखोलाका अध्यक्ष प्रकश घर्तीको निमन्त्रणामा आएका बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापा र धुर्कोटका अध्यक्ष भूपाल पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गरे । पहाडकी रानी बन्दीपुर, श्रमजीविको गाउँ ताराखोला र ऐतिहासिक महत्त्वको धुर्कोट गाउँपालिका पहाडी भूभागमा पर्छन् । उनीहरूले कृषि, घरेलु उद्योग र पर्यटक भित्र्याएर समृद्धि ल्याउने प्रतिबद्धता पनि जनाएको ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तिले वताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको उपस्थितिमा उनीहरूले साझा सहमतिमा हस्ताक्षर गरे । तीन गाउँपालिकाको यो सम्बन्ध पर्यटन प्रवर्द्धनमा कोशेढुंगा हुने लम्सालले बताए । ‘तीनवटा पालिका मिलेर विकासको मोडल बनाउने, एक गाउँका बासिन्दालाई अर्को गाउँ घुमाउने प्रक्रियाले नेपाल भ्रमण वर्ष सफल बन्नेछ,’ लम्सालले भने, ‘देशभरका अरू पालिकामा पनि यो क्रम अब थालिनेछ ।’ ग्रामीण पर्यटनको विकासका लागि पूर्वाधार निर्माणमा तीनवटै तहले प्राथमिकता दिने प्रतिबद्धता पनि जनाएका छन् । ‘सडक संजाल पहिलो आवस्यकता हो, त्यसमा लगानी गरिरहेका छौं,’ घर्तीले भने, ‘विदेश पलायन रोक्न घरघरै उद्यमीको योजना पनि बुनेका छौं ।’ ताराखोलामा अर्गानिक कृषि फार्म, पशुपालन, ट्राउट माछा, अल्लो लगायतको कृषि उत्पादन भइरहेको छ ।
तीनवटै तहले होमस्टे मार्फत पर्यटक भित्र्याउने योजना पनि बनाएको बताए । बन्दीपुरमा विदेशी पर्यटक समेत आउने भए पनि होमस्टे पनि सञ्चालन गरेको उपाध्यक्ष करुणा गुरुङले बताइन् । ‘विदेशी पर्यटकको आफ्नै गन्तव्य छ, तर महिलालाई रोजगार बनाउन दुइवटा होमस्टेमा लगानी समेत गरेका छौं,’ गुरुङले भनिन्, ‘आन्तरिक पर्यटक लक्षित गरिएका होमस्टेमा बिदेशीले पनि रुचाउन थालेका छन् ।’ धुर्कोट गाउँपालिका चौबीसे राज्यको शक्तिशाली थियो । उक्त विरासत राख्नका लागि विकास र रोजगारीमा निरन्तर खटेर विदेश पलायन रोक्ने अभियान थालेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->