बागलुङ, २३ मंसिर – जिल्ला अदालत बागलुङले नेकपा विप्लवका जिल्ला सेक्रेटरी नवीन कुवँरलाई धरौटीमा रिहा गरे लगतै बागलुङ प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ । राज्यविरुद्धको अपराध गरेको आरोपमा गत असोज ७ गते पक्राउ परेका जिल्ला सेक्रेटरी कुँवरलाई अदालतले सोमबार १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका कुँवर अदालतको आदेश अनुसार धरौटी तिरेर बाहिरिने क्रममा अदालत परिसरबाटै पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले नेता कुवँरलाई पक्राउ गरिएको जानकारी दिँदै पर्वत जिल्ला पठाइने जानकारी दिए ।
कुँवरविरुद्ध पर्वत जिल्लामा पनि मुद्धा भएकाले छिमेकी जिल्ला पठाउन लागिएको हो । पर्वत प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले कुँवर विरुद्ध सार्वजनिक स्थलमा अभद्र व्यवहारक गरेको आरोपमा सार्वजनिक मुद्दा रहेको वताए ।
राज्य विरुद्धको अपराध विरुद्धमा यसअघि पक्राउ परेका नेकपाका नेता बाबुलाल शाक्य र विकिरणलाई प्रहरीले म्याग्दी, बागलुङ, स्याङजा, तनहुँ हुदै गोरखा पुराएको थियो । सर्वोच्च अदालतको आदेशमा उनीहरु दुवै गत हप्ता रिहा भएका थिए ।





