पर्वत,२ पुस – पर्वतको कुश्मा नगरपालिका ६ मा रहेको शिवालय माध्यमिक विद्यालयको श्रोत कक्षामा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभाव भएको छ ।
सरकारले अनुदानका रुपमा दिँदै आएको रकम निकै कम हुने तथा दाताहरुले सहयोग गरेको पैसा पनि सकिएपछि उनीहरुलाई ब्रेल लिपी प्रयोग गर्नमा नै समस्या भएको छ । पर्वतको पैयुँ गाउँपालिका स्थित सरौँखोला घर भई श्रेत कक्षाको कक्षा ९ मा पढ्दै गरेकी दृष्टिविहीन छात्रा कुसुम गौतमले शैक्षिक सामग्रीहरु नपाउँदा आपूmहरुलाई अध्ययनमा कठिनाई भइरहेको बताईन् । ‘ब्रेलमा लेख्ने पेपर नै छैन् । अरु कपीमा लेख्न आँखाले देखिँदैन् ।’ उनले भनिन, ‘हामीहरुको समस्या बुझेर बेला बेलामा मान्छेहरु आएर सहयोग गर्नुहुन्छ । उहाँहरुले दिएको पैसा सकिएपछि केही किन्न नै पाईँदैन् ।’
म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौर घर भएका भरत रिजाल पनि शिवालय मा.वि कै कक्षा ११ मा अध्ययनरत छन्। उनले पनि आपूmलाई मनमा लागेको सबै कुरा ब्रेल लिपिबाट कागजमा उतार्दैनन् । यो समस्या विद्यालयमा अध्ययनरत १८ जना दृष्टिविहीन विद्यार्थीहरूको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी, सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था प्लान नेपाल र कुस्मा नगरपालिका ३ दुर्लुङका प्रेम बि.क.ले दुई वर्ष अगाडि विद्यालयमा रहेका दृष्टिविहीन विद्यार्थीहरूको समस्या टार्नको लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । अहिलेसम्म सोही रकमबाट उनीहरूका लागि आवश्यक पर्ने खर्च व्यवस्थापन गरिएको भए पनि अहिले त्यो पैसा सकिएपछि विद्यार्थीहरूलाई समस्या भएको छ ।
आँखा देख्न सक्नेहरूले दिनमा बढीमा कति पाना लेख्न सक्लान् ? १० पाना भरिने गरेर लेख्ने हो धेरै कुराहरू अभिव्यक्त गर्न सकिन्छ । तर ब्रेल लिपिमा हामीले सहजै अनुमान गरेको जस्तो हुँदैन । दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल लिपिमा लेख्नका लागि प्रयोग हुने कागजको एउटै पानाको मूल्य साढे २ रुपैयाँ पर्छ । सोही विद्यालयमा कार्यरत दृष्टिविहीन शिक्षक हरिदत्त शर्माका अनुसार एक जना विद्यार्थीले एक दिनमा कम्तीमा पनि ८० पाना लेख्छन्, तर पनि लेख्न खोजेका कुरा पूरा हुँदैनन् । ब्रेलका अक्षर ठूला हुने भएकोले केही शब्दहरुले नै पाना भरीन्छ । यस अनुसार एक जना विद्यार्थीको लागि पाना किन्नको लागि मात्रै एक दिनमा दुई सय रुपैयाँ र एक महिनामा ६ हजार रुपैयाँ आवश्यक पर्छ । तर उनीहरूसँग यति धेरै पैसा हुँदैन् । ‘केही कुरा लेख्न मन लागे पनि मन बाँध्नु परेको छ यिनीहरूले । लेखुन् भने ब्रेल लेख्ने सिट सकिन्छ, किन्ने पैसा हुँदैन ।’ शिक्षक शर्मा भन्छन्, ‘अपाङ्गता भएकाहरुलाई राज्यले गरेको लगानीको अवस्था के रहेछ? भन्ने गतिलो उदाहरण यो पनि एउटा हो ।’ लेख्नका लागि प्रयोग हुने एउटा स्लेट एन्ड स्टाइलसको मूल्य पनि ७ सय रुपैयाँ पर्ने विद्यार्थी बताउँछन् ।
विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले एक जना दृष्टिविहीन विद्यार्थीको लागि महिनाको चार हजार रुपैयाँका दरले १० महिना अनुदान आउने गरेको बताए । त्यसमध्येको ५ सय रुपैयाँ पकेट खर्च भनेर दिने गरिएको छ । त्यसबाट उनीहरूले ब्रस, टुथ पेस्ट, सेनीटरी प्याड, भित्री वस्त्र लगायतका व्यक्तिगत सामग्रीहरू खरिद गर्छन । बाँकी रहेको ३५ सय रुपैयाँले एक महिनाका लागि खाना, खाजा, स्टेशनरी, औषधि, लुगा लगायतका आश्यकताहरु पूरा गर्नुपर्ने बाध्यता छ । ‘३५ सय रुपैयाँले के पुग्छ? एक बोरा चामलकै मूल्य झन्डै २ हजार पर्छ, सामान्य औषधि खानु परेमा पनि ५ सय जान्छ ।’ उनले भने, ‘यिनीहरूलाई अहिलेसम्म दाताहरूकै भरमा राखिएको छ । बेला बेलामा संस्था र व्यक्तिले दाल, चामल, तेल लगायतका सामग्रीहरू सहयोग गरेर धानिएको छ ।’
शिवालय माध्यमिक विद्यालयमा रहेको श्रोत कक्षामा कुल २४ जना दृष्टिविहीन विद्यार्थीहरू अध्ययनरत छन् । ती मध्येका ६ जना आप्mनै घर वा आफन्तकोबाट आउजाउ गरेर पढ्छन् भने बाँकी रहेका १८ जना दृष्टिविहीन विद्यार्थीको लागि विद्यालयमा बनाइएको छात्राबासमा बस्दै आएका छन् । छात्राबासको क्षमता १४ जनाको भए पनि १८ जना बस्नु परेको छ । बजेट र पूर्वाधारकै समस्याका कारण विभिन्न जिल्लाबाट भर्ना हुन आएका विद्यार्थीहरूलाई भर्ना नगरी फिर्ता गर्नुपरेको शिक्षक हरिदत्त शर्मा बताउँछन् ।





