पर्वत,९ पुस – विद्यालय व्यवस्थापन समिति निर्माण गर्ने क्रममा भएको किचलोका कारण पर्वतको बिहादी गाउँपालिका ३ मा रहेको नेपालतारा माध्यमिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदा झण्डै ४ महिनादेखि बिद्यालयको कक्षा ११ र १२ को अंग्रेजी बिषयको पठनपाठन हुन सकेको छैन् । तत्कालिन शिक्षक राजेन्द्रप्रसाद पौडेल शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तिर्ण भई स्थायी नियुक्ति लिएर भक्तपुर गएदेखि नै ११ र १२ कक्षामा अंग्रेजी बिषयको पठनपाठन ठप्प रहेको कक्षा मा अध्ययनरत विद्यार्थी विपिन कुँवरले बताए । ‘कसका बिबाद के बिषयमा हुन्? त्यो कुरा हाम्रो सवालको बिषय होईन्। हामी पढ्नका लागि विद्यालय आएका हौँ । हामीले पढ्न पाउने अधिकार कुण्ठित भएको छ ।’ उनले भने, ‘यथाशिघ्र शिक्षकको व्यवस्थापन गरेर हामीले पढ्ने अधिकारको सुनिश्चितता हुनुपर्छ भनेर सोमबार र मंगलबार विद्यालय प्रशासनको गेटमा तालाबन्दी पनि गरेका छौँ ।’
विद्यार्थीहरुले शिक्षकको व्यवस्थापन नभएसम्म तालाबन्दी जारी राख्ने बताउँदै आएका छन् । तालाबन्दी खुलाउने बिषयमा सोमबार र मंगलबार आन्दोलनरत विद्यार्थीहरुसंग छलफल गरिएको भएपनि विद्यार्थीको अडानका कारण ताला नखुलेको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद पराजुलीले बताए । विद्यालयमा पढाई नहुँदा विद्यार्थीहरु अंग्रेजी बिषयको अध्ययनबाट बञ्चित भएको स्वीकार गर्दै प्रधानाध्यापक पराजुलीले तालाबन्दीको कारण कक्षा ११ र १२ को पढाई नभएको भएपनि कक्षा १ देखि १० सम्म भने पढाई भइरहेको जानकारी दिए ।
‘लगभग दसैँ पछाडि कक्षा ११ र १२ मा अंग्रेजी विषयको पठन पाठन भएको छैन् । राजेन्द्र सर भक्तपुर जानु भएपछि पढाई रोकिएको छ ।’ उनले भने, ‘प्रशासनमा तालाबन्दी भएको भए पनि कक्षा १ देखि १० सम्मको पठनपाठन भने चलिरहेको छ । शिक्षकहरू बाहिर नै बसेका छौँ ।’
प्रधानाध्यापक पराजुलीले विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाएकै कारण नयाँ शिक्षकको नियुक्ति गर्ने प्रक्रिया नै रोकिएकोले विद्यालयमा समस्या भएको बताए । नयाँ समिति निर्माण गर्नको लागि ४ जना सदस्यहरूको चयन भएको भए पनि अध्यक्ष र मनोनीत गरिने सदस्यहरूको टुंगो लागेको छैन् । समितिलाई पूर्णता दिन लामो समयदेखि प्रयास हुँदै आए पनि सहमति जुट्न नसकेको उनको भनाई छ । ‘चार जना सदस्यहरूको मात्र टुंगो लागेको छ । अध्यक्ष र मनोनित सदस्यहरूको टुंगो नलागेका कारण विद्यालय व्यवस्थापन समिति नरहेको अवस्था छ ।’ प्रधानाध्यापक पराजुलीले भने, ‘समितिले पूर्णता नपाएसम्म नयाँ शिक्षक नियुक्त गर्न मिल्दैन ।’ उनका अनुसार खाली रहेको पदमा शिक्षक नियुक्त गर्नका लागि विज्ञापन गरेर दुई जना उम्मेदवारको आवेदन समेत परेको छ । तर समितिकै समस्याका कारण उनीहरूको परीक्षा लिन नपाउँदा नियुक्तिको विषय नै अलमलमा परेको छ ।





