बागलुङ, २८ पुस – नेपाल तरुणदलका जिल्ला कोषाध्यक्ष देबेन्द्रकुमार घर्तीलाई काठमाण्डौको ठमेलबाट प्रहरीले पक्राउ गरेकोमा बिरोध गरेको छ । घर्तीलाई पुस २३ गते ठमेलमा व्यक्तिगत काममा हिडेको समयमा प्रहरीले पक्राउ गरेको तरुणदलले आरोप लगाएको छ । तरुणदलका अध्यक्ष उमाकान्त शर्मा बाबुले प्रकाशित गरेको बिज्ञप्तीमा घर्तीलाई अपमानजनक ढंगले पक्राउ गरिएकोमा मानवअधिकारको उलंघन भएको बताइएको छ ।
संविधानले नेपाली नागरिकलाई शान्तिपूर्ण रुपमा घुम्न डुल्न पाउने अधिकार दिएपनि प्रहरीले फसाउने दुरासय राखेर पक्राउ गरेको शर्माले आरोप लगाएका छन् । उनलाई लोकतान्त्रिक बिचार राखेकै कारण सरकार पक्षले फसाउन खोजेको समेत बताइएको छ । शान्तिपूर्ण रुपमा आफ्नो काममा निस्केका युवालाई आतंकित पार्ने काममा प्रहरी प्रशासन उद्दत भएको भन्दै घटनाको भत्र्सना पनि गरिएको छ । साथै घर्तीलाई बिना शर्त रिहा गर्न आग्रह पनि गरिएको छ । रिहा नभएमा तरुणदलले आन्दोलनका कुनैपनि कार्यक्रम थाल्न बाध्य हुने समेत बताइएको छ । साथै आन्दोलनमा हुने दुश्परिणामको दोषी समेत सरकार हुने चेतावनी पनि दिइएको छ । घर्तीलाई प्रहरीले थुनामा राखेको उनले बताए ।





