बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आचारसंहिता र नेकपा

आचारसंहिता र नेकपा


  • Dhorpatan News
  • माघ ७ २०७६, मंगलबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )ले नेता÷कार्यकर्ताको लागि आचारसंहिता बनाएको छ । पार्टीका नेता÷कार्यकर्ताले अनिवार्य पालना गर्नुपर्ने भनिएको यो आचारसंहितामा तँ भन्ने शब्दलाई पूर्णरुपमा बन्द गराउनेदेखि मितव्ययी बन्नुपर्नेसम्मका बुँदाहरु समेटिएका छन् । परिवारमा यो बुँदा कार्यान्यवन हुन्छ कि हुन्न यसै भन्न सकिँदैन तर प्रधानमन्त्री ओलीले आचारसंहितमा यो बुँदा राखेर आफ्नो ‘तपाईँ मोह’ प्रष्ट पारेका छन् । उनले केही समयअघि पत्रपत्रिकाले सबैलाई तिमी भनेकोमा असन्तुष्टी जनाएका थिए । त्यसो त, नेकपाको यो आचाारसंहितामा विवाहलाई मितव्ययी बनाउने, अनिवार्य लेवि तिर्ने, राज्ययलाई कर तिर्नेदेखि उमेर पुगेका छोराछोरीसँग घरसल्लाह गर्ने,सँगै खाना खाने, जेष्ठ नागरिकलाई काममा नलगाउने र प्रेम गर्ने जस्ता कुरा पनि समेटिएका छन् ।
आचारसंहितामा बाँधिनु आफैमा नराम्रो कुरा हैन । आफूले आफूमाथि नै नियन्त्रण गर्ने, असल कर्म गर्ने र अरुलाई पनि असल कर्म गर्न उत्प्रेरित गर्नु मानिसको कर्तव्य हो । यो कसैले भनेर हैन कि मनबाट आफैले पनि लागु गराउनुपर्छ । यसमानेमा नेकपाले कार्यकर्तालाई दिएको निर्देशनलाई सकारात्मक मान्नुपर्छ । आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्नु, संस्कार सिकाउनु तथा उनीहरुको राम्रो जीवनको कामना गर्नु आफैमा सकारात्मक छ । मानिसलाई श्रमको सम्मान गर्न सिकाउनु पनि आफैमा राम्रो हो । मुख्यकुरा, यो निर्देशन पालना हुन्छ कि हुँदैन भन्ने हो । धेरैजसो विषयहरु यसअघि नै राम्रो संस्कार भएका परिवारमा लागुहुँदै आएका छन् । आफू धनी भएपछि कामदार राख्ने, भ्रष्टाचार, कालोबजारीजस्ता काम गर्ने, छुवाछुत, महिला ंिहसाजस्ता विषय नगर्नू भन्ने सन्देश भने कार्यकर्ताबाट पालना हुनु जरुरी छ । दशौँ बुँदामा रहेको समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उचनीचि, छुवाछुत, जातपात र जातिभेद अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बुँदा कार्यान्वयनमा लागे समाज ने रुपान्तरणमा पनि सहयोग पुग्छ ।
नेकपाको आचारसंहिताले पछिल्लो समय बदलिएको समाज प्रतिविम्वित मात्र गर्दैन, पार्टीका कार्यकर्ताहरु अनुशासनको घेराभन्दा बाहिर गएको पनि संकेत गर्छ । हेर्दा सामान्य लाग्ने बुँदाहरु समेटेर फलामे अनुशासनको पक्षपाती मानिने कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ताहरु अनुशासनमा नबसेको प्रष्ट पारेको छ । यसैगरि उसले परिवारमा हुनैपर्ने केही विषय समेटेर समाज बदलिएको संकेत पनि गरेको छ ।
यतिबेला सरकारमाथि क्रोनो क्यापिटालिज्जमतर्फ उन्मुख भएको आरोप लागेको छ । अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको आरोपबाट पनि सरकार मुक्त छैन । आफ्ना कार्यकर्तालाई नै ठेक्कापट्टा दिने, उनीहरुलाई नै पोस्ने काम पनि सरकारबाट भएको विपक्षीको आरोप छ । यती समूहलाई दिइएको सुविधाले त्यो कुराको पुष्टी नै गरेको छ । आचारसंहिता जारी गर्नुपूर्व सरकारले आफ्ना गल्ती सच्याउनु र आफै अनुशासनमा बस्नु जरुरी छ । उपल्लो तहका नेताहरु विलासी भएका छन् । रुख जराबाट हैन, टुप्पोबाट सुक्छ । त्यसले अनुशासन पनि माथिबाटै पालना हुनुपर्छ । यो निर्देशन पार्टीको लागि लेबी उठाउने काममा मात्रै प्रयोग हुनुहुँदैन । हिजो पार्टी अनुशासन भंग गरेको आरोपमा ज्यानै लिनेसम्मका काम भएजस्तो यो आचारसंहितालाई निरंकुशताको प्रतिक बनाउन हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->