पोखरा, ८ माघ – नेपाल पर्यटन बर्ष २०२० को अवसरमा तनहुँको भीमाद नगरपालिका वडा नं. ७ धन्धुरस्थित सिद्ध गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिईएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत सिद्धगुफामा भ्रमण वर्षको शुरुवात गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुवात गरेको हो ।
सिद्धगुफामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भ्रमण वर्षको शुरुवात गर्दै सरकारको अभियानमा सहयोग पु¥याउनु सबैको कर्तव्य भएको बताए । पर्यटन समृद्धिको आधार रहेको चर्चा गर्दै मन्त्री लम्सालले सरकारले पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकतामा राखेको उनले बताए । मन्त्री लम्सालले भ्रमण बर्षलाई बर्षभरीनै उत्सवका रुपमा मनाउन आव्हान गरे । स्थानिय स्तरमा रहेका ऐतिहासिक धार्मीक पर्यटकीय स्थल मठ,मिन्दर,प्राकृति प्राचुर्याताका डाँडाकाडा,भ्यूप्वाईन्ट,नदी,नाला,ताल तलैया लगाएतका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा लाग्न स्थानियवासीलाई आग्रह गरे ।
मन्त्री लम्सालले गण्डकी प्रदेश प्रकृतिले दिएको स्वर्गको टुक्रा जस्तै रहेको बताउदै प्राकृति,संस्कृति र शाहासिक पर्यटनका लागि गण्डकी प्रदेश उत्कृष्ट रहेको दाबी गरे । संसारमा नभएको पर्यटन गण्डकी प्रदेशमा रहेको चर्चा गर्दै पर्यटकको आकर्षण वृद्धि गर्न प्रदेश सरकारले नयाँ योजना अगाडी सारेको बताए । उनले प्रत्येक जिल्लाका चार÷चार वटा पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरी आकर्षीत तथा व्यवस्थित बनाउन लागेको बताए ।
सोही अवसरमा मन्त्री लम्साल मार्फत भिमादमा रहेका गुरुङ,ब्रहमण,मगर,परियार,विश्वकर्म,मिजार,मुस्लिम लगाएतका जातजातीहरुले आ—संस्कृति देखाउदै भिमाद भ्रमणको निमन्त्रणा दिएका थिए ।
कार्यक्रममा भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको प्रबद्र्धनमा नगरपालिका जुटेको बताए । भीमादलाई पर्यटकीय क्षेत्र बनाउने योजानाका साथ अगाडी बढेको बताउदै पर्यटकीय सम्भावना रहेका त्यस्ता किसिमका ठाउँको पहिचान गरी डीपीआर तयार मा जुटेको उनले जनाए। उनले सिद्ध गुफा लगाएतका पर्यटकीय क्षत्रको भ्रमण गरि भ्रमण बर्षलाई सफल बनाउन अपिल समेत गरे ।
धेरै भन्दा धेरै पर्यटकलाई सिद्धगुफामा भित्र्याउने उद्देश्य सहित गुफाबाटै भ्रमण वर्षको शुरुवात गरिएको सिद्धगुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए । उनका अनुसार पर्यटक आकर्षित गर्न गुफाममा पूर्वाधार निर्माण समेत गरिएको छ । गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने विकास समितिले जनाएको छ ।
गुफा भित्र झन्डै ३ सयजना बस्न मिल्छ । यस गुफामा तीन तलासम्म मज्जाले हिंड्डुल गर्न मिल्छ भने प्राकृतिक रुपमा कुँदिएका विभन्न आकृतिहरु देख्न सकिन्छ । गुफा नजिकै चमेरो गुफा पनि छ ।





