बागलुङ,१२ माघ – नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्नका लागि पहल सुरु गरिएको छ ।बागलुङ पर्यटन विकास समिति, बागलुङ उद्योग वाणिज्य संघको पर्यटन समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बागलुङको पहलमा बागलुङ र पोखरा बीच पर्यटनमा सहकार्य गर्नका लागि पहिलो पटक संस्थागत रुपमै पहल थालिएको हो ।बागलुङका सरोकारवालाले गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल,पर्यटन वोर्ड पोखराको लेकसाईड र पृथ्वीचोकका पर्यटन तथा होटल व्यवसायी संग पर्यटन सहकार्य सम्बन्धि अन्तरक्रिया गरिएको थियो ।
पोखराका होटल तथा अन्य पर्यटकीय क्षेत्रको अध्ययन ,अवलोकन तथा सहकार्य गरी पर्यटकीय गतिविधि बढाउनका लागि पोखराका व्यवसायी संग सहकार्य थालेको बागलुङ पर्यटन विकास समतिका अध्यक्ष राजु खड्काले बताए ।
पर्यटकहरुलाई खुसी पार्न होटलहरुको सेवा व्यवस्थापन, सरसफाई, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलहरुको अवलोकन समेत गरिएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताए ।
नेपाल भ्रमण वर्षमा आउने पर्यटकहरुलाई आर्कषित गर्नका लागि पर्यटन व्यवसायीहरुले पर्यटनमैत्री बातावरण तयार गर्नका लागि अभियान सञ्चालन गरिएको चोखालले वताए।बागलुङका पर्यटन व्यवासीले गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साललाई भेटी बागलुङको पर्यटन प्रर्वदनमा प्रदेश सरकारको भुमीका वढाउन माग गरेका थिए । सो अवसरमा मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले प्रदेशका ४४ वटा पर्यटकीय गन्तव्यको विकास गर्ने तयारी सुरु गरेको भन्दै मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यविधि तयार गरी पर्यटकीय स्थलको विकास गर्ने तयारी सुरु गरेको वताए । उनले बागलुङका पञ्चकोट÷शालिग्राम संग्रहालय, ढोरपाटन, बागलुङ कालिका मन्दिर, जैमिनी धाम, रुद्र ताल, भैरवस्थान मन्दिर, भकुण्डे, घुम्टेको धुरी, विहुँकोट शिवालय शिवधुरी, सत्यवती मन्दिर तथा गाईघाट झरनाको पूर्वाधार विकासमा मन्त्रालयले लगानी गर्ने जानकारी दिए। प्रत्येक गन्तव्यमा ४० लाखका दरले प्रदेश सरकारले अनुदान दिने तयारी गरेको मन्त्री लम्सालले जानकारी दिए । प्रदेशका ११ जिल्लाका ४४ गन्तव्य विकासका लागि प्रदेश सरकारले १७ करोड ६० लाख खर्च गर्ने छ ।
बागलुङ र पोखराका पर्यटन व्यवसायी संगको अन्र्तक्रियामा सहकाभागी भएका संघीय सांसद देवेन्द्र पौडेलले बागलुङमा धेरै पर्यटकीय गन्तव्य भए पनि लगानीकर्ताको अभावमा पर्यटन विकास हुन नसकेको बताए । उनले नीजि क्षेत्रको लगानी बिना उद्योग तथा पर्यटनको विकास सम्भव नहुने बताए । बागलुङका व्यवसायी संगको अन्र्तक्रियामा नेपाल भ्रमण वर्ष सन् २०२० का सहयोजक अग्नी कडेलले तेस्रो मुलुकका पर्यटकलाई लक्षीत गरी धौलागिरी परिपथ निर्माण गर्ने तयारी गरेको वताए । उनले बागलुङ पर्यटनको प्रचुर सम्भावना वोकेको जिल्ला भएर पनी पछी परेको भन्दै सवैको सहकार्यमा बागलुङलाई पर्यटकीय हवको रुपमा विकास गर्न आवश्यक रहेको वताए ।पर्यटन वोर्ड पोखराका कार्यकारी निर्देशक कासी भण्डारीले स्थानिय व्यवसायी सक्रिय नभए सम्म पर्यटन व्यवसाय फस्टाउन नसक्ने भएकोले व्यवसाय विकासमा चिन्तन आवश्यक रहेको वताए ।छलफलका क्रममा पोखराका पर्यटन व्यवसायीहरुले बागलुङ संग जोडर पर्यटन व्यवसायमा सहकार्य, लगानी तथा अनुभव आदान प्रदान गरी पर्यटन गतिविधि बढाउने प्रतिबद्धता जनाएका थिए । पर्यटन क्षेत्रको सबैभन्दा महत्पूर्ण मानिएको होटल व्यवसायलाई कसरी पर्यटन मैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यवसायीहरुवीच अनुभव आदान प्रदान समेत गरिएको छ ।
आगमी दिनमा बागलुङका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउने, पोखराको अध्ययन अवलोकन, पोखरामा आउने पर्यटकहरुलाई कसरी बागलुङ सम्म लैजाने र पर्यटकलाई आर्कषण गराउन प्रचार प्रसार लगायतका विषयमा सहकार्य गर्ने विषयमा छलफल भएको ।
पोखरा आएका आन्तरिक तथा वाह्य पर्यटकहरुलाई बागलुङ पु¥याउने र बागलुङमा भएका पर्यटन गतिविधिहरुलाई पोखरा सम्म ल्याउने विषयमा सहकार्य गर्ने गरी तयारी गरिएको होटल व्यवसायी महासंघ केन्द्रिय उपाध्यक्ष तथा पोखराका पर्यटन व्यवसायी केपी शर्माले बताए ।पोखराका व्यवसायी, फस्टाएका होटल तथा पर्यटकीय स्थलहरुको अवलोकनबाट सिकेर बागलुङका होटलहरुलाई पर्यटकमैत्री बनाउँदा पर्यटकहरुको बसाई लम्बाउन सकिने पर्यटन विज्ञ बासु त्रिपाठीले सुझाव दिए ।





