आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

झापट काण्ड संसदमा

झापट काण्ड संसदमा

उजुरीकर्तालाई म्याद थप


  • ढोरपाटन संबाददाता
  • माघ १३ २०७६, सोमबार

पोखरा, १३ माघ – संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावली अनुसार गण्डकी प्रदेशका सांसदहरुले अर्का सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेको जानकारी आइतबारमात्रै पाए ।
संविधानको धारा १८७ को उपधारा ६ तथा प्रदेशसभा नियमावलीको नियम २०५ ले सदस्यको पक्राउ सम्बन्धी सभामुखले सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोहीनियमको उपनियम २ ले बैठक नचलेको अवस्थामा सचिवालयको सूचनापाटीमा सूचनाटाँस गर्ने र सञ्चारमाध्यममा प्रचारप्रसार गर्न लगाउने व्यवस्था छ ।
गण्डकी प्रदेशसभाको अहिले हिउँदे अधिवेशन चलिरहेको छ । सभामुख नेत्रनाथ अधिकारीले आइतबार एक बजे डाकिएको बैठकको सुरुमा नै मनाङे पक्राउ परेको सूचना सांसदहरुलाई दिए ।
त्यसपछि संसदको कारवाही सुरु भयो । प्रतिपक्षी दलका सांसदहरुले मनाङे पक्राउको विषय उठाए ।
विशेष समयमाबोल्ने कांग्रेसका विन्दुकुमार थापाले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि अपशब्द र गालीगलौज सहित लात्ती र मुक्काप्रहार गरिनुले कानूनीराज माथि प्रश्न उठेको बताए । सार्वजनिक स्थलमा हातपात गरिनुले कानूनको शासनको खिल्ली उडेको उनको भनाई थियो । मनाङे सत्ताधारी दलका सांसद भएका कारण उनले जवाफ पनि मागे ।
“प्रदेशको माननीयजस्तो व्यक्तिजसले नीतिनियम कानून बनाउने गर्दछ, जो रक्षक उही भक्षक भनेजस्तै यस हातपातको प्रश्रय, यो घटना गण्डकी प्रदेश र संसदको पनि घोर अपमान हो । सदनको गरिमामा ठेस पुगेको छ, हाम्रो शिर निचो भएको छ ।” थापाले भने ।
नेपाल कम्युनिष्ट पार्टीले हालै जारी गरेको आचारसंहितामा लात्ती र मुक्का नहान्नु भनेर नलेखिएका कारण मनाङेले अक्षम्य क्रियाकलाप गरेको भन्दै व्यंग्य हाने ।
“हामी उहाँको विगतको इतिहास कोट्याउन चाहँदैनौँ, तर राजनीतिमा अपराधीकरण प्रवेश हुन कदापी हुन्न भन्ने कुरा हो । चाहे जुनसुकै दलको होस, हामी कानून भन्दामाथि छैनौँ, निष्पक्षगरि दोषीमाथी कडा कारवाहीहोस ।” उनले भने ।
विशेष समयमा नै समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले मनाङेमाथि नैतिकताको प्रश्न उठाए ।
“हामी जनताका प्रतिनिधीहरु जनताको माग र भावनालाई मुखरित गर्न नीति योजना बनाउनको लागि निर्वाचित भएका हौँ । तर, जनप्रतिनिधीले नैतिक मूल्यमान्यता पालना गर्नपर्छ कि पर्दैन ?” उनले प्रश्न गरे ।
मुख्यमन्त्री प्रमुख अतिथी भएको कार्यक्रममा माननीयले कठालो समात्दा जनताले दिएको संस्कार भुलिएको उनले बताए ।
“मलाई लाग्छ, नैतिक मूल्यमान्यता र आदर्श कायमगर्ने हो भने सभामुखको ध्यानाकर्षण गराउँदै सभालाई औपचारिक रुपमा जानकारी होस । एउटा जनप्रतिनिधीको हैसियतमा गरेको अमर्यादितव्यवहार, संविधान र कानूनविपरित, सामाजिक मूल्यमान्यता विपरित छ । उहाँ नैतिक रुपमा जनताको प्रतिनिधी हुनपाउने कि नपाउने ?” उनले प्रश्न गरे ।
संसदमा प्रश्न उठेको केही बेरमा नै मनाङे जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भए । उनका समर्थकहरुले खादा लगाइदिए ।
रिहा भएपछि मनाङेले संसदमा उठेको विषयमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, “मिलन गुरुङको बोस को रहेछ भनेको बिस्तारै खुल्दैछन् ।”
संसदमा प्रश्न उठाउने सांसदहरु नै मिलन गुरुङका बोस रहेको उनले जवाफ फर्काए । “अब हेर्नुस, त्यो मिलन गुरुङको बोस को भनेर २ दिनमा मैले सोचिराथेँ, विन्दुकुमार थापा रहेछ, किनभने यो जस्तो सडकछाप टोलेगुण्डाले कसरी यत्रो पोखरामा गुण्डागर्दी ग¥यो त ? यत्रो ठाउँमा खाएर, भनेपछि विन्दुकुमार चाहिँ यसको बोस रहेछ, बल्ल खुलिराछ हेर्नुस, ठगको बोस को भन्दा विन्दुकुमार थापा …. यो हेडलाइन तपाई बनाईहहाल्नुहुन्छ ।”
ज्नताका छोराछोरीको काम गर्नकै लागि ४५ हजार तलब लिएको उनले बताए ।
“माननीयको काम पोखरा बसेर ४५ हजार तलब खाने हो त ? आफ्नो जिल्लाले जिताएर पठाएपछि, म कर्मचारी त होइन नि । जनताले जिताएर पठाएपछि मलाई मार्दैनन भोलि ? उनीहरुका छोराछोरीलाई केही हेर्न सकेन भने मैले के आधारमा तलब लिनु ।” उनले भने ।
२०७४ को प्रदेशसभा निर्वाचनमा मनाङ (क) बाट निर्वाचित भएका मनाङे प्रदेशको अर्थ तथा विकास समितिका सदस्य समेत हुन् ।
उजुरीकर्तालाई म्याद थप
मनाङे विरुद्ध उजुरी दिएर तीन रात हिरासतको बास गराउने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पनि आफै हिरासतमा छन् । आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुवास पौडेलको संयुक्त इजलासले ७ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
गएको मंगलबार मिलनलाई मनाङेले झापट हानेका थिए । त्यतिबेला आफू संयमित भएको प्रतिक्रिया दिएका मिलनले बुधबार उजुरी दिएका थिए । बिहिबार पक्राउ परेका मनाङे आइतबार छुट्दा उनको हिरासतबास भने एकसाता लम्बिएको छ ।
कारण, उनी आफै विवादित व्यक्ति हुन् । मनाङेलाई उजुरी दिएको भोलिपल्टै मिलनविरुद्ध पनि उजुरी परेको थियो । विवादास्पद छविका उनीविरुद्ध ठगीको उजुरी परेको थियो ।
हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जाहेरी दिए । आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मिलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए । साफ यु १८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो । मिलनले २ लाखको चेक दिए पनि नसाटिएको जाहेरीमा उल्लेख छ ।
बैंकिङ कसुरमा पक्राउ परेका मिलनलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिइएको छ । बैंकिङ कसुर मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ भने पीडितलाई रकम दिलाउने र ३ महिना जेल सजाय हुनसक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->