पोखरा,१४ माघ – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले पोखरामा आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म क्यान इन्फोटेक मेला–२०२० को आयोजना गर्ने भएको छ ।
विश्वमा पछिल्लो समय प्रयोगमा आइरहेका सूचना प्रविधिको वृहत ज्ञान दिने उदेश्यले प्रदेशस्तरीय क्यान इन्फोटेक मेला आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विस्वास) ले जानकारी दिए ।
इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनी तथा बिक्री वितरणका साथै प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, आइसिटी रोजगारी फर्म बितरण र तालिम , आइसिटी स्पिच प्रतियोगिता सञ्चालन गरिने भण्डारीले बताए ।
त्यसैगरि रोवर्ट प्रतियोगिता, आइसिटी म्यूजियम, आइसिटी विजनेस टकलगायतका कार्यक्रम सञ्चालन हुने आयोजकको भनाई छ । सो अवसरमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा प्रदान गरिने भएको छ ।
आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन प्रदर्शनी तथा अन्य आइसिटीसँग नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, मोबाइल प्रदर्शनी एवं बिक्री गरिनेछ। मेलामा सूचना प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढि स्टल रहने बताइएको छ ।मेलालाई प्रभुपेले मुख्य प्रायोजन गरेको छ ।





