पोखरा पर्यटनको मात्र हैन, शिक्षा र स्वास्थ्यको लागि पनि महत्वपूर्ण गन्तव्य हो । समग्र गण्डकीको शिक्षाको केन्द्रको रुपमा विकसित पोखराको शिक्षा क्षेत्रले बजारले खोजेको जनशक्ति उत्पादनमा समेत आफूलाई अब्बल साबित गरेको छ । यहाँ रहेको सिटिइभिटी होस् वा होटल म्यानेजमेण्ट कलेज । मनिपाल होस् वा गण्डकी मेडिकल कलेज, इञ्जिनियरिङ अध्ययन संस्थान होस् वा बन विज्ञान अध्ययन संस्थान ! बजारले खोजेको जनशक्ति उत्पादनमा यी शैक्षिक संस्थाहरुले यथोचित योगदान दिएकै छन् । पछिल्लो समय पोखराको पुरन्चौरमा खुलेको कृषि क्याम्पसले कृषि क्षेत्रको आवश्यकता पूरा गर्नेतर्फ आफ्ना पाइला डो¥याएको छ । गण्डकी सरकारले प्रदेशमा नै प्राविधिक विश्वविद्यालय खोल्ने तयारी पनि गरेको छ । त्यसो त, पोखरामा रहेका सामुदायिक तथा निजी कलेजहरुले शिक्षाको विकासमा पु¥याएको योगदानलाई कम आँक्न मिल्दैन । तर, पनि उच्च शिक्षाको लागि विदेश जाने उपक्रम रोकिन सकेको छैन । पछिल्लो समय शिक्षामा समेत सर्टिफिकेट बोकेर जागिर खोज्न जानेभन्दा जागिर दिन चाहनेहरु पढ्दै गरेका विद्यार्थीको ढोका धाउने सोचको विकास पनि भएको छ । मान्छेले जागिर खोज्ने होइन, जागिरले मान्छे खोज्ने जनशक्ति निर्माणको चाहनाकै सेरोफेरोमा पछिल्लो समय आकर्षक मानिएको चार्टर्ड एकाउण्टेन्सीको पढाई पोखरामै हुन थालेको छ । प्रिज्म सेण्टर अफ लर्निङ प्रालिले पोखरामै बसेर सिए पढाउन सुरु गरेको छ । त्यसो त यहाँ यही विषयको पढाई हुने अन्य संस्था पनि नभएका होइनन् । करिअरको लागि चार्टर्ड एकाउण्टेन्सी किन महत्वपूर्ण छ ? यो पढाई कति सजिलो छ ? भन्नेलगायतका विषयमा हामीले प्रिज्म सेण्टर अफ लर्निङका प्रबन्ध निर्देशक अमित थापासँग केही प्रश्न गरेका थियौँ । प्रस्तुत छ, सिए थापासँग गरिएको कुराकानीको सम्पादित अंश :
सिए कस्तो विषय हो ?
चार्टर्ड एकाउण्टेन्सी कुनै नामै नसुनिएको चराको नाम हैन । पढाईका विभिन्न विषयजस्तै सिए पनि एउटा विषय हो । यो लेखा प्रणालीसँग सम्बन्धित छ । अंक र हिसाबसँग सम्बन्धित यो विषय अध्ययन गर्नेले जागिर खोज्नुपर्दैन । आफैले केही गरौँ भने पनि हुन्छ । जागिर नै खाए पनि यसले राम्रो सन्तुष्टी दिन्छ ।
पढ्न गाह्रो हुन्छ रे, हो ?
हो, मासिनहरु पढाई साह्रै गाह्रो हुन्छ भन्छन । अझ ंसिएमा पास हुनै सकिन्न र एक विषयमा फेल भए सबै सुरुबाट पढ्नुपर्छ भन्ने हल्ला पनि छ । तर यर्थाथ यो चाहिँ यो होइन । पढ्दै नपढी कुनै विषय पास हुन सकिन्न । आज तपाईँ सिए, बिविए र विविएसको कोर्ष हेर्नुहुन्छ भने नब्बे प्रतिशतभन्दा बढी विषय र कोर्ष कन्टेन्ट मिल्छन् । यसै कारण नै हाम्रो सन्र्दभमा सिएसँगै बिबिएस पनि भर्ना हुन्छन् । सिए पढ्दै गरेकाले सजिलै बिबिएको जाँच दिनसक्छ ।
तर, यसको अर्थ सिए सजिलो भन्नेचाहिँ होइन । खुलेरभन्दा विद्यार्थीहरुलाई क्याप २ पास गर्न बढी नै मेहनत गर्नुपर्छ । मैले भनेँ नि, लगनशीलता सबै विषयको लागि आवश्यक पर्छ । परीक्षा पास गर्न समय, पढाई र परीक्षाको राम्रो प्लानिङ आवश्यक पर्छ । त्यसैले हामी क्याप १ को परीक्षालगत्तै क्याप २ पढाउन सुरु गर्नुपर्छ । क्याप २ पछि भने प्रयोगात्मक परीक्षा हुने हो । यसमा फेल भन्ने शब्दावली नै हुँदैन । क्याप ‘२’ पाससँगै ट्रेनिङ गरेपछि ‘सेमी क्वालिफाइड’ सिए हुन्छन । जसको बजारमा धेरै डिमाण्ड छ । साथै फाइनलको परीक्षा भनेको आजको ४–५ वर्षमा हुने हो । जुन बेला हाम्रा विद्यार्थी धेरै खारिसकेका हुन्छन । सिएमा फेल र ‘ड्रप आउट’ हुने क्याप ‘टु’ मा हो । क्याम्प टुको १५ महिनाको अवधीलाई राम्रो ‘प्लानिङ’, ‘गाइडेन्स’ गर्न सकियो भने अगाडीको भविष्य सुनौलो छ ।
चार्टर्ड एकाउण्टेन्सीमा आकर्षण बढेको छ तर कस्ता विद्यार्थीले यो विषय पढ्ने र कहाँ पढ्ने भन्नेमा अझै अन्यौलता छ नि !
हो, तपाईँले ठीक भन्नुभयो । सिए साह्रै मेधावी वा पढ्न प्लस टुमा राम्रो अंक ल्याएका विद्यार्थीले मात्रै पढ्ने भन्ने आम बुझाई छ । तर, त्यस्तो नभई कुनैपनि संकायमा पास मात्रै भएका विद्यार्थीले यो पढ्न सक्छन । यो एउटा ‘प्रोफेसनल’ कोर्ष भएको हुनाले प्रतिशत भन्ने नै कुनै ‘क्राइटेरिया’ छैन । ‘विद्यार्थीको व्याकग्राउण्ड भन्दा पनि अब कसरी अगाडी बढ्ने कुराले उसको भविष्य निर्धारण गर्छ । तपाईँमा उच्च इच्छाशक्ति छ भने सिए सबैभन्दा सजिलो र पढ्नासाथ काम पाइने विषय हो भन्ने अब धेरैजनाले बुझ्दै आउनु भएको मैले ठानेको छु । अब रह्यो, कहाँ पढ्ने भन्ने विषय, म भन्छु,‘अहिले कुन शैक्षिक संस्था कस्तो छ भन्ने कुृरा विद्यार्थीले सजिलै थाहा पाउन सक्छन् । सिए पढ्न हाम्रो पालामाजस्तै विदेश धाउनु पर्दैन ।
अनि, पढ्ने चाहिँ पोखरामा जाँच दिन काठमाण्डौ जानुपर्ने हो ?
राजधानी वा विदेशमा सिए पढ्ने ठाउँ अवश्य छन् तर पढ्नकै लागि राजधानी जान नपरोस् भनेर नै हामीले सिए क्लास संचालनमा ल्याएका हौँ । हिजोको कुरा छाडौँ,अहिले कुनै पनि विद्यार्थीले पोखराबाटै सम्पूर्ण तहको परीक्षा दिन सक्छन् । परीक्षा फाराम पनि पोखराबाटै भर्न सकिन्छ । हाम्रा ७÷८ जना विद्यार्थी यहीँ बसेर अन्तिम तहको टे«निङ गरिरहेका छन् । अब सिए पढ्न राजधानी वा भारतका सहरहरु जानै पर्दैन । आफ्नै परिवारसँग बसेर मज्जाले पढ्न सकिन्छ । यसको ग्यारेण्टी प्रिज्मले लिन्छ । अर्को कुरा, यतिबेला हामीकहाँ सिए पढ्नका लागि पोखरा वरपरका जिल्लाहरुबाट विद्यार्थीहरु आएका छन् । हामीले विद्यार्थीका लागि आवश्यक ‘मोटिभेसन’, ‘कोर्डिनेसन’लगायत आवश्यक पर्ने थप परामर्सहरु दिइरहेका छौं ।
सिए पढ्न कति समय लाग्छ अनि यो पढाई कत्तिको महंगो छ ?
सैद्धान्तिकसहित प्रयोगात्मक सिएको कोर्स सकिन साढे चार वर्ष समय लाग्छ । सिएको परीक्षा र रिजल्ट प्राय ः निश्चित हुन्छ । परीक्षा हरेक जुन १ र डिसेम्बर १ बाट सुरु हुन्छ र रिजल्ट अगस्ट १५ र फेब्रुवरी १४÷ १५ मा हुन्छ । सिए पढ्दै गर्दा बिबिएस पनि सँगै पढ्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयले सिएसँगै बिबिएस गरेकालाई डिग्रीको मान्यता प्रदान गरेको छ । चार वर्षको बिबिएस र त्यसपछि सामान्यतया ः डिग्री गर्न २ वर्ष लाग्छ । यसरी हेर्दा सिए पढ्दा समयको बचत हुन्छ । शुल्कको कुरा गर्नुभयो, मैले भारत गएर कति खर्च गरी सिए सकेँ भन्ने गौण भइसक्यो । तपाईँहरुले सोचेभन्दा सस्तोमा प्रिज्मले यो कोर्ष गराउँछ । पढ्दा पढ्दै पैसा कमाउन पनि सकिन्छ यहाँ ।
तपाईँले पोखरामै सिएको क्लास पनि चलाउनु भएको छ । प्रिज्मको कसरी जन्म्यो ?
मैले भारतबाट सिए गरेँ । घर छाडेर विदेश बस्दाको पीडा शब्दमा बर्णन गर्न सकिँदैन । घरको याद, पढाईको लोड अनि कहिलेकाहिँ भनेको बेला खर्च नआउने समस्या पनि हुन्छन् । ती भोगाईहरु आफ्नो ठाउँमा छन् । पछि मैले राम्रो अंक ल्याएर सिए उत्तीर्ण गरेँ । रिलायन्सजस्ता भारतका विख्यात कम्पनीहरुमा काम गर्ने अवसर नआएको हैन तर नेपालमै केही गर्नुपर्छ भनेर म स्वदेश फर्केँ । साथीभाईसँग छलफलल गरेँ । हामीले तयारी थाल्यौँ । क्यानले हामीलाई चार्टर्ड एकाउण्टेन्सी क्लास संचालन गर्न स्वीकृति दियो । अनि प्रिज्मको जन्म भयो । घरमै बसेर नेपाल सरकारले तोकेको मापडण्ड अनुसारको पढाईबाट सिए उत्पादन गर्नु हाम्रो लक्ष्य हो । अहिले फर्केर हेर्दा लाग्छ, हामी यो लक्ष्यमा सफल हुँदै आएका छौँ ।
थप केही भन्नु छ यहाँको ?
बजारमा सिएको ठूलो माग छ । मेरै कुरा गर्नुहुन्छ भने मलाई भ्याईनभ्याई छ । पैसा पनि राम्रै कमाएको छु । आफूले स्वतन्त्र रुपमा गरिने पेशा पनि हो यो । हामीले पोखरामा सिए पढाउन थालेका छौँ । यहाँको आवश्यकता पूरा गर्न तथा आफूसँग भएको ज्ञान बाँढ्नकै लागि प्रिज्म स्थापना भएको हो । हामी नाफा कमाउनेभन्दा पनि युवाहरुलाई स्वरोजगार भएको देख्न चाहन्छौँ ।त्यसैले हामीले गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिमा पढाउने व्यवस्था मिलाएका छौँ ।





