पोखरा,२२ माघ – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक भित्रैमा नेपालमा गुणात्मक परिवर्तन हुने दावी गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको १७ वार्षिकोत्सब तथा तेस्रो विश्वशान्ति पूजाको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले लामो समयको संघर्षको उपलब्धि जनाताले महसुस गर्न धेरै समय नलाग्ने बताएका हुन ।
‘हामी यतिबेला महत्त्वपूर्ण क्षणमा छाँै ,राजनीतिक स्थिरता आएको छ ,अब मुलुकमा गुणात्मक परिवर्तन हुनेछ’, उनले भने । विकास र समृद्धिको लागि सवै मिलेर अघि बढ्नु पर्नेमा उनको जोड थियो । उनले
पर्यटनको मुख्य केन्द्र गण्डकी प्रदेश भएकोले पूर्वाधार विकासकालागि सरकारसँग पहल गर्ने बताए । फेवाताल संरक्षण र सीमांकन, सर्वसाधारणको लागि रत्न मन्दिर खुलाउने विषयमा पहल गरिरहेको बताउँदै उनले यो अभियानमा छिट्टै सफलता मिल्ने दावी गरे । नेपालको पर्यटन विकासमा पर्वत आरोहण संघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संघको मातहतमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई अनुसन्धानको केन्द्र बनाउनु पर्नेमा जोड दिए ।
उनले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवं विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताए । पोखरास्थित संग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवं सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जोकोही लाभान्वित हुने अध्यक्ष प्रचण्डले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले समृद्धिको आधारनै पर्यटनलाई बनाएको कारण पर्यटन विकासको लागि कुनै कसर बाँकी नराख्ने बताए । पर्यटन व्ययसायीसँग मिलेर गण्डकीको पर्यटन विकासको लागि सरकार तयार रहेको उनको भनाई थियो । पर्वतीय सङग्राहलय व्यवस्थापनको लागि सरकारले सहयोग गर्ने गुरुङले बताए । गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले गण्डकीको पर्यटन विकासको लागि संग्रहालयको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।
भमण वर्ष २०२० सलाई सफल बनाउने तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयको प्रचारप्रसार गर्ने उद्देश्यले विश्वशान्ति पूजा आयोजना गरिएको पर्वतारोहण संघकाअध्यक्ष सन्तवीर लामाले बताए । विश्वमा स्थायी शान्ति स्थापना गर्ने, नेपालमा स्थापित धार्मिक सहिष्णुतालाई प्रचार प्रसार गर्ने, धार्मिक पर्यटनलाई नेपालको पर्यटन गतिििवधिको रुपमा स्थापित गर्न विश्वशान्ति पूजा सहयोगी बन्ने उनको दावी छ । अध्यक्ष लामाले बुद्ध नेपालमै जन्मेको तथ्य स्थापित गर्नका लागि पनि यो पूजा सहयोगी बन्ने बताए । माघ २० देखि सञ्चालन भएको पूजा लुम्बिनीबाट सुरु भएको थियो । अंग्रेजी महिनाको ५ फेब्रअरी अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्राहलय दिवसका अवसरमा मन्जुश्रीको मन्त्र उच्चारणसहित विशेष समारोह आयोजना गरिएको थियो । सो अवसरमा प्रसिद्ध बौद्ध गुरुहरुले पूजा गर्नेछन् । यस अघि सन २००६ ,२०१४ मा विश्व शान्ति पूजा आयोजना गरिएको थियो ।





