मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

महाशिलाका कृषकलाई १७ लाखका औजार वितरण

महाशिलाका कृषकलाई १७ लाखका औजार वितरण

उन्नत जातका बिरुवामा कृषकको आकर्षण


  • संजय रेग्मी
  • माघ २३ २०७६, बिहिबार

पर्वत,२३ माघ – पर्वतको महाशिला गाउँमापालिकाको सुन्तला पकेट क्षेत्र कार्यक्रममा सहभागी रहेका कृषकहरुलाई झण्डै १७ लाख मूल्य बराबरका कृषि सामग्रीहरु हस्तान्त्रण गरिएको छ ।समूह मार्फत  उत्पादनमा लाग्ने हो भने रोग तथा किरा नियन्त्रणमा सजिलो हुने र उत्पादनलाई एकै ठाउँमा जम्मा पारेर बजार पठाउन सकिने भन्दै सुन्तला पकेट क्षेत्रको घोषणा गरिएको थियो । जसमा कृषकहरूकै सक्रियतामा दुक्तान ढाँडखर्क बगालथर सुन्तला समूह गठन गरेर सामूहिक रूपमा सुन्तला उत्पादनको काम भइरहेको र सोही समूहमा रहेका ६५ जना कृषकहरुको लागि सामग्रीहरु वितरण गरिएको हो ।

५ नं. वडा र कृषि ज्ञान केन्द्र कार्यालयको ११ लाख अनुदान तथा कृषकहरूले साझेदारी गरेको ६ लाख रुपैयाँ गरी १७ लाखका सामग्रीहरू हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । उनका अनुसार सुन्तला कार्यक्रमलाई सजिलो हुने गरी सुन्तला गोडमेल तथा अन्य नगदे बाली लगाउनको लागि ६ ओटा मिनी टिलर, हाँगा काँटछाँटका लागि करौँती, कैँची, बेर्ना सार्न खाडल खन्ने मसिन, निलोतुथो, चुना, कम्पोस्ट मल, पन्जा, भ¥याङ लगायत सामग्रीहरू वितरण गरिएको छ ।

महाशिलाका कृषकहरूले घरमा आफुले खानको लागि सुन्तला उत्पादन गर्दै आएको भए पनि व्यावसायिक रूपमा भने सुन्तला खेती गरेका थिएनन् । तर गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेर समूह समेत निर्माण गरिएपछि सुन्तला खेतीमा आकर्षित हुने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ ।

उन्नत जातका बिरुवामा कृषकको आकर्षण

वडाका अगुवा सुन्तला उत्पादक कबिर गुरुङले अब आम्दानीको माध्यमको रूपमा सुन्तला खेतीलाई लिन थालेका छन् । सुन्तला उत्पादनको सम्भाव्यता रहेको भए पनि उनले कम उत्पादन दिने र सानो दाना हुने रैथाने जातको सुन्तला लगाउँदै आएका थिए । उनको जग्गामा रहेका सुन्तलाका पुराना रुखहरू रैथाने भए पनि पोहोर लगाइका बिरुवा भने उन्नत जातका छन् ।

लुँखुदेउरालीका कृषक टेकबहादुर गुरुङले पनि गत वर्षबाट नै उन्नत जातको सुन्तलाका सयौँ बिरुवाहरू लगाएका छन् । बाबु बाजेहरूका पालामा लगाइएका सुन्तलाका बोटहरूमा उत्पादन कम भएपछि पालिकाले दिएको सुन्तलाका बिरुवाहरू लगाएर नयाँ जातमा रुची लागेको उनले बताए । ‘नयाँ जात पायौँ भन्दैमा पुराना बिरुवाहरू फालेको त होइन नि फेरि !’ गुरुङले भने, ‘पालिकाले धेरै फल्ने जातका बिरुवा बाँडेको थियो तिनै बिरुवाहरू लगाए छौँ । नयाँ बिरुवा लगाउँदा लोकल लगाएका छैनौँ ।’

गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार गाउँपालिकाले रैथाने जातका सुन्तला खेतीबाट कृषकहरूको दुःख खेर जाने भन्दै गतबर्षबाट रैथाने सुन्तलाको जातका ठाउँमा धेरै उत्पादन हुने बिरुवाहरू वितरण गरेको थियो । यसका लागि वडाबाट आवश्यक बजेट विनियोजन गरेर वडा नं. ५ मा झन्डै ४ हजार सुन्तलाका बिरुवाहरू वितरण गरिएको थियो । ‘महाशिला सुन्तला उत्पादनमा राम्रो हुने क्षेत्र हो । तर परम्परागत शैलीका कारण कृषकहरू मारमा पर्दै आउनुभएको थियो ।’ उनले भने, ‘यो वर्ष र आगामी वर्षहरूमा पनि हामीहरूले यस प्रकारका कामलाई निरन्तरता दिने छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->