पोखरा,२३ माघ – कास्कीको अन्नपूर्णमा गाँउपालिकामा इजीआरपीको तीनदिने तालिम सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्राविधिक सहयोग शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको समन्वय एवं अन्नपूर्ण गाउँपालिको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरु तथा शिक्षासंवद्ध पदाधिकारीहरुको लागि तीनदिने क्षमता विकास कार्यशालाको प्रारम्भ भएको हो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले कार्यक्रममा बोल्दै शिक्षा विकासको महत्वपूर्ण पाटो भएको र यसलाई प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले थप टेवा दिएको बताए । उनले गाउँपालिकाको शिक्षाका लागि प्रधानाध्यापक आफैले काम गर्नुपर्ने र गाउँपालिकालाई झकझकाउन अनुरोध गरे ।
यसै कार्यक्रममा बोल्दै , प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले शिक्षाको गुणस्तर बढाउन स्थानीय सरकारले अघि सारेका शैक्षिक कार्यमा सबैको सरोकार हुुनुपर्ने कुरामा जोड दिए । प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थीको पढाई सिपको सुधार गरेको र शिक्षकहरुलाई तालिम प्रदान गरि तथा सामग्री उपलब्धता गराई पढाइ सिपमा अभिवृद्धि गर्न सहयोग गरेको कुरा उल्लेख गरे ।
कार्यक्रममा ११ वटै वडा अध्यक्षहरु गाउँ कार्यपालिकाका सदस्यहरु, प्रधानाध्यापक , शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य , शिक्षक अभिभावक सघं एवं अन्य शिक्षाप्रेमी व्यक्तिहरुको सहभागिता रहेको छ । कार्यक्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई स्थानीय स्तरमा कसरी दीगो बनाउने भन्ने विषयमा चर्चा भएको थियो ।





