पोखरा, २३ माघ – ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले पोखरामा २१ करोडको लागतमा दिव्य शान्ति अनुभूति केन्द्र बनाउने भएको छ । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले पोखरा ११ फुलबारीमा उक्त शान्ति अनुभूति केन्द्र निर्माण गर्न लागेको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राजु बराल शैलेशले सो बारे जानकारी गराएका थिए ।
ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालका निर्देशक ब्रम्हकुमारी राजयोगिनी परिणीताले युग रुपान्तरणको वर्तमान समयमा व्याप्त विकार, विकृति र विसंगतिसँगै देखिएको नैतिकहिनता, चिन्ता, निराशा, तनाव, दुःख लगायत सर्वपक्षीय नकारात्मक भावबाट आक्रान्त मानवलाई सही मागदर्शनका लागि अध्ययन स्थलको रुपमा दिव्य शान्ति अनुभूति केन्द्र निर्माण गर्न लागेको बताइन । उनले ओमशान्ति १४० देशहरुमा १० हजार भन्दा सेवा केन्द्रहरुका माध्यमबाट आध्यात्मिक ज्ञान र राजयोग मेडिटेशनको शिक्षा प्रदान गरेको जानकारी दिइन ।
संस्थाका महासचिव शैलेश बरालले सनातन संस्कृतिको संरक्षण र सम्बद्र्धनका साथै मूल्य शिक्षाको प्रयोगशाला र प्रसारण, पर्यटन प्रवद्र्धन , मानव सशक्तिकरण र मानव संसधान विकासको लागि साधना मन्दिरको रुपमा दिव्य शान्ति अनुभूति केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । उनले आध्यात्मिक मनबाट संकलित रकमले नै भवन निर्माण गरीने लक्ष्य राखिएको र भवन निर्माणको लागि २१ करोड लाग्ने जानकारी दिए। साढे तीन रोपनी जग्गा मध्ये ५१ प्रतिशत जग्गामा भवन बनाइने उनले जनाए। उक्त भवनमा राजयोग सभाहल, राजयोग अनुभूति कक्ष, अडिटोरियम हल, पुस्तकालय, संग्रहालय, भोजन कक्ष र भण्डारा, आवास गृहहरु रहने उनले जानकारी दिए ।





