आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा मनाइयो ११८ औं सम जयन्ती

पोखरामा मनाइयो ११८ औं सम जयन्ती


  • ढोरपाटन संबाददाता
  • माघ २५ २०७६, शनिबार

पोखरा,२५ माघ – सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली नाटकका सर्वोच्च प्रतिभा नाट्यसम्राट् बालकृष्ण समको ११८ औं जन्मजयन्ती पोखरामा मनाइएको छ ।
नेपाली वाङ्मयको जरो संरक्षण र टुुप्पो जोगाउनु पर्ने अभियानका साथ क्रियाशील जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट्क समको जन्मजयन्ती विशेष समारोह आयोजना गरेको हो ।
कार्यक्रममा प्राडा रामचन्द्र पोखरेलले बालकृष्ण समको नाट्यकारिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने सरुभक्तको ज्ञान विज्ञानले हात जोड्नुपर्दछ कर्ममा विषयक सम्भाषण रहेको थियो ।
सम्भाषण राख्दै साहित्यकार सरुभक्तले सबैले कर्ममा हात जोड्नै पर्ने कुरामा जोड दिए । नेपाली वाङ्मयका क्षेत्रमा नाटकका रुचि राख्ने स्रष्टा कम भएकाले त्यसलाई बढाउनुपर्ने धारणा राख्दै समको योगदानलाई ओझेल पारिनुका कारण पत्ता लगाउन आवश्यक रहेको बताए ।
केही समय अगाडि सेक्सपियर जन्मेको ठाउँ र नाटक लेखेको थिएटर पुगेको स्मरण गर्दै उनले भने– ‘नेपालका सेक्सपियर समको उचित संरक्षण हुन सकेको छैन, हुन आवश्यक छ । र उनको साधनाको थलोलाई साहित्यिक पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्छ ।’
बालकृष्ण समको नाट्यकारिता विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राडा रामचन्द्र पोखरेलले समलाई नेपाली नाटकको भूतो न भविष्य भएको बताए ।
समका विभिन्न आयामबारे प्रकाश पार्दै पूर्वीय पाश्चात्य शैली मात्र नभएर सुखान्त र दुखान्त दुवैको मिश्रणमा नाटक लेख्ने समलाई मानवतावादी सामाजिक नाटककारका रूपमा चिनाए ।
उनले श्रीमतीका माइतीले दिएको कल्ली बेचेर समले कृति छपाएको बताउँदै भने– ‘शमशेर थर काटेर सम लेख्ने उनी क्रान्तिकारी नाटककार हुन् ।’
प्राडा पोखरेलले, संसार नियमित आकस्मिक बाहेक केही नभएकाले हिजो समले भनेको मुटुको व्यथा सबैको व्यथा भएको धारणा राखे ।
जरो टुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले नेपाली नाटकको जरो बालकृष्ण सम भएकाले त्यसको संरक्षणका लागि संस्था अगाडि बढेको स्पष्ट पारे ।
संस्थाका महासचिव मदन भण्डारीले बहुमुखी प्रतिभाका धनी बालकृष्ण समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी जस्ता क्षेत्रमा कलम चलाए पनि नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ । असफल गौतमले नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम नाटककार मात्र नभएर चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक भएको पुष्टयाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->