पोखरा,२७ माघ – पोखराको फेवाताल जोगाउन खहरे खोलामा बन्दैगरेको सिल्टेसन ड्याममा (बाँधमा) प्रयोग गरिएको सामग्री गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न पहिलो चरणमा ५ वटा खोलामा सिल्ट्रेसन बाँध निर्माण सुरु भएको हो । तर बाँध निमार्णमा उचित मात्रामा सिमेन्टको प्रयोग नभएको र बाहिरी पर्खालमा सिमेन्ट राखिएपनि भित्र ढ्ङ्गा मात्र राखिएको स्थानीयको गुनासो छ । निर्मााणकै चरणमा बाँधको जग पानीले खोल्न थालेको छ ।
२८ करोड १६ लाख लगानीमा खोलाहुँदै तालमा मिसिने गेग्रयान रोक्न खोलाहरूमा सिल्ट्रेसन बाँधको निर्माण गर्न लागिएको हो । तर, निमार्ण गर्दै गरेको बाँध हेर्दा टिकाउ नहुने र करिब ७ सय घरधुरीलाई पनि असर पार्ने सम्भावना देखिएको छ । पोखरा महानगरपालिका वडा नम्बर– २३ का वडासदस्य भरतराज भण्डारीले गुणस्तरहीन ड्यामले ठूलो क्षति निम्त्याउने खतरा भएको बताए । ‘हामीले विकासलाई रोक्न खोजेका होइनौँ, गुणस्तरीय विकास हुनुप¥यो मात्र भनेका हौँ’, उनले भने । भण् हाल पोखरा २३ अँधेरी खोला र हर्पन खोलामा निमार्ण गरिएको ड्याम गुणस्तरहीन भएको उनको दावी छ । अँधेरी खोलामा निमार्ण गरिएको बाँधमा माटोको मात्रा रहेको, बालुवा मिसावट गरिएको र भित्रीतहमा पनि ढुङ्गा मात्र राखिएको तर सिमेन्ट नहालिएको उनले बताए । निमार्ण कम्पनीलाई वस्तुस्थितिबारे जानकारी गराएको र बारम्बार आग्रह गर्दासमेत आनाकानी गर्दै बाँध निमार्ण गरेको उनले सुनाए । उनका अनुसार निमार्णधीन बाँधले बस्ती नै जोखिममा पर्ने खतरा रहेको छ । ‘हामीले बाँधको नक्सा र परियोजनाको विस्तृत विवरण हेर्न खोज्दा महानगर र निमार्ण कम्पनिले वास्ता नै गरेको छैन, गुणस्तरहीन बाँध कति दिन टिक्ने हो थाहा छैन’, उनले भने । स्थानीय प्रेम भण्डारीले ०७२ सालको जस्तै बाढी आए उक्त बाँध भत्किने बताए । पाँगो माटोको प्रयोग गरि निमार्ण गरेको कारणले बाँध दिर्घकालीन नहुने उनको भनाइ रहेको छ । पोखरा महानगरका इन्जिनियर खेम तिमिल्सिनाले आफुले पहिला पनि मिसावट बालुवाको प्रयोग भएको भन्दै काम रोकेको बताए । तिमिल्सिनाले बाँधको अवलोकन गरी गुणस्तरमा ध्यानदिने बताए । ‘हामीले निमार्ण गरेको बाँधमा गुणस्तर छैन भने हामी सच्याएर निमार्ण गर्छौँ’, उनले भने । बालुवाको गुणस्तर समेत नाप गरिने उनको भनाइ रहेको छ । यस्तै, पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले गुणस्तरहीन बाँध बनाउन रकम खर्च नगरेको बताउँदै एकदुई दिनमै निरीक्षणगरि प्राविधिक रुपमा गुणस्तरीय र बलियो बाँध निमार्ण गर्ने बताए ।
फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ पामेस्थित बेतयनी खोला एक र दुई, लौरुक खोला, पोखरा २३ र २४ को अँधेरी खोला र पोखरा २३ स्थित हर्पन खोला घाँटीछिना गरी पाँच ठाउँमा चेकड्याम बनाएर सिल्ट्रे्सन ड्याम निर्माण गर्न लागिएको हो ।बेतयनी खोला आयोजनाको स्याङ्जाको श्री गीता र जयनेपाल इश्वर जेभी, लौरुक खोला, अँधेरी खोला तथा हर्पन खोला गरि ३ वटा आयोजना खड्का कृष्ण र पिके जेभी दाङले ठेक्का पाएका छन् । बेतयानी खोलामा ५ करोड ४६ लाख ५८ हजार लागतमा दुई वटा, घाँटीछिनामा ७ करोड ८८ लाख ६२ हजार लागतमा एउटा, लौरुकमा ५ करोड ७४ लाख ८४ हजारमा एउटा, अँधेरी कुनामा ९ करोड ६ लाख ४ हजारमा एउटा बन्नेछन्। यी पाँचवटा पोखरी बनाउन कुल ३४ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।





