पोखरा,, २७ माघ – तनहुँ जिल्लाको भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडा नं. १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमवार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । एउटा विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिसका साथै कार्य सम्पन्न प्रतिवेदन बनाइदिए वापत इन्जिनियर अधिकारीले सेवाग्राहीबाट रु. ७५ हजार घुस लिएका थिए । उनीहरु दुबैजनालाई भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ ।





