आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सधैँ खतरा सेतीको खोच !

सधैँ खतरा सेतीको खोच !


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७६, मंगलबार

पोखरा,२८ माघ – पोखरालाई दुई भागमा चिरेर बग्छ, सेती नदी । कतै लुक्दै,कतै देखिँदै बग्नु यो नदीको विशेषता हो । अन्नपूर्ण हिमालबाट निस्कने यो नदीको अस्तित्व देवघाट पुगेपछि सकिन्छ । देवघाटमा त्रिशुलीसँग मिसिन्छ सेती । डेनियल सि टेलर र जेनिफरले सन् १९७१ लुकेको सेतीको ३ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ गरे । हिमाल र यतीबारे लामो अनुसन्धान गरेका उनको यो अभियानसँगै सेती विश्वमाझ चिनियो । गोर्खा दक्षिणबाहुले सम्मानित डेनियलले सेती चिनाउनुअघि नै नेपालीले सेतीका अनेकौँ किस्सा नसुनेका भने होइनन् । सेतीसँग महाभारतकालीन समय जोडिएको छ, पोखरेलीको सभ्यताको कथा, केआइसिंहको वीरता अनि वियोगान्तक कहानीहरु पनि जोडिँदै आएका छन् ।
पहिला के भयो ? कहानी नै भयो । तर, २०६५ साल असार १० गते साढे २ वर्षीया बालिका आराधना प्रधान पृथ्वीचोक नजिकको सेतीखोचमा खसिन् । उनी खसेपछि हल्लाखल्ला भयो । सेतीखोचमा खसेकी ती बालिकाको २२ घण्टापछि सकुशल उद्धार गरियो । उद्धार गर्ने १२ वर्षीया कमल नेपाली राष्ट्रिय हिरो भए । यो घटनापछि धेरैको ध्यान सेतीतिर तानियो । सेतीको किनारा असुरक्षित भएको र त्यहाँ तारजाली लगाउनुपर्ने माग पनि उठ्यो । तर, यतिका वर्षहुँदा पनि सेती किनारमा तारजाली लगाइएको छैन । अहिले पनि सेती किनार उस्तै छ । यसले कहिले संसारदेखि भाग्न चाहनेहरुलाई लुकाउँछ त कहिले बाँच्ने चाहना हुँदाहुँदैकालाई पनि शिकार बनाउँछ । यस्तै भयो, सोमबार कुकुर लिएर सेती किनार पुगेका एक युवा सेतीखोचमा खसे । आफ्नो कुकुरलाई बचाउन खोज्दा खोचमा खसेका २३ वर्षीय आकाश गुरुङको उद्धार गरियो । उनलाई सेतीको करिब ७० मिटर गहिरो खोचबाट निकालियो ।
सेतीको किनार आफैमा असुरक्षित छ । खासगरि पोखरा–९, पृथ्वीचोक क्षेत्रतिर सेती किनारामा धेरै भ्वाँङ र खोच रहेका छन् । ती खोचमा परेपछि मान्छे कहाँ गयो थाहै हुँदैन । तर, सेती डिललाई सुरक्षित बनाउनेतर्फ महानगरले भने कुनै योजना सार्वजनिक गरेको छैन । सेतीमा मान्छे वा जनावर खसेको बेला सुरक्षाको कुरा उठ्छ । केही समयपछि यो आफै हराउँछ । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीका अनुसार सेतीको डिलको व्यवस्थापनको कुरा उठे पनि यसको लागि योजना भने बनेको छैन ।
‘अहिले हामीले सेती किनाराको ५ मिटर र ५० मिटर मापदण्ड क्षेत्रको सफाई तथा त्यसको उपयोगको कुरा गरिरहेका छौँ’, उनले भने,‘ सेतीखोच अवलोकन गर्ने गरि अहिले योजना बनिरहेको छ ।’ उनका अनुसार यो परियोजना निर्माण हुँदा अन्य क्षेत्रको सुरक्षाबारे पनि सोचिनेछ । उनले यो परियोजनाले अहिलेसम्म उपयोगमा नआएको सेती उपयोग हुने र पर्यटकीय गन्तव्य थपिने सुनाए ।
महानगरले केही समयअघि सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार ‘सेतीखोच अवलोकन परियोजना’ निर्माणमा बोलपत्र आह्वान गरेको थियो । त्यो सूचनाअनुसार केही कम्पनीहरुले सेती नदीलाई साहशिक पर्यटनको गन्तब्य बनाउनेतर्फ चासो देखाए । महानगरका सार्वजनिक निजी साझेदारी परियोजनाका प्रमुख अनन्तप्रसाद कोइरालाका अनुसार सेती नदीमा क्यानोनिङ निर्माणको लागि सेती क्यानोनिङ छानिएको छ । ‘अहिले उसले यो परियोजनाको विस्तृत निर्माण प्रतिवेदन तयार पार्दैछ’, यो परियोजना सेतीको घाइघाटबाट रातोपैह्रोसम्म निर्माण हुने हो ।’ उनका अनुसार यो परियोजनाबारे छलफल चलिरहेको छ । तर, सो कम्पनीले सेती किनारामा तालजाली भने लगाउने छैन । कम्पनीले सेती किनारा र खोचमा हिँड्ने बाटो बनाउने र क्यानोनिङ चलाउने तयारी थालेको कोइरालाले जनाए । भूगर्भविदहरुले सेतीको खोच असुरक्षित रहँदै आएको बताउँदै आएका छन् । भूगर्भविद कृष्ण केसीले केही समयअघि पोखराको भूबनौट र सेतीको अवस्थितिबारे ब्याख्या गर्दै भनेका थिए,‘यहाँको भूबनौट नै भ्वाङ पर्ने खालको छ भने सेतीको बहावले यसका किनारका जग्गा भास्सिने र चिरिने नियमित प्रक्रिया हुन् । यसरी जग्गा चिरिँदा त्यहाँ असुरक्षा हुन्छ नै ।’ तर, उनीहरुको कुरा सरोकारवाला निकायहरुले सुनेका छैनन् । सेती किनार सधैँ असुरक्षिचत रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->