पर्वत,२८ माघ – हाइड्रोसिल लगायत अन्य केही साना शल्यक्रियाहरु जिल्लामा नै गराउँदै आएका पर्वतबासीहरुलाई दाँतको उपचार गराउन भने छिमेकी जिल्ला कास्कीको पोखरा जानुपर्ने बाध्यता थियो । कि त नीजि क्लिनिकमा कि त बाहिरी जिल्लाका अस्पतालमा जाँदा अप्ठ्यारो सेवासहित महँगो मूल्य तिर्नुपर्ने उनीहरुको बाध्यता थियो । अब भने पर्वतबासीहरुको यो समस्याको हल भएको छ । दाँतको सामान्य उपचारको लागि पनि पोखराका विभिन्न अस्पतालहरूमा पुग्दै आएका पर्वतका दन्तरोगीहरुलाई अब जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
पछिल्लो समय विभिन्न सेवा तथा सुविधाहरू थप गरिरहेको पर्वत अस्पतालमा पहिलोपटक विशेषज्ञद्वारा दाँतको उपचार पनि सुरु गरिएपछि महँगो मूल्य तिरेर पोखराका अस्पतालमा जानु नपर्ने भएको हो । अहिलेसम्म एक जना बीडीएस डक्टरले दाँत सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको भए पनि अबदेखि भने एमडीएस डाक्टरले उपचार सेवा प्रदान गर्ने गरी डाक्टर ल्याएर उपचार सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारसँग समन्वय गरेर अस्पतालमा दन्त उपचारको लागि विशेषज्ञ सेवा थप गरिएको हो । हालै मात्रै सुरु भएको भएको विशेषज्ञ सहितको दन्त रोग सेवामा आवश्यक पर्ने पूर्वाधार तथा थप जनशक्ति थप गरेर छिमेकी जिल्लाका दन्त बिरामीहरू समेत पर्वतमा आउन सक्ने वातावरणको निर्माण गर्ने प्रयास भइरहेको पनि अध्यक्ष पहाडीले बताए । एमडीएस डा. सुदिप सुवेदीका अनुसार पर्वत अस्पतालमा दाँत निकाल्ने, जरादेखि नै दाँत भर्ने, शल्यक्रिया गरी दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँत रङ्गको सिमेन्ट भर्ने, वृद्धवृद्धाहरुका लागि नक्कली दाँत राख्ने लगायतका दाँत सम्बन्धी सबै उपचारहरू सम्भव भएका छन् । अहिलेसम्म पर्वतमा दाँत सम्बन्धी सामान्य समस्या हुँदा निजी दन्त क्लिनिकमा जानुपरेको थियो भने केही जटिल अवस्था आउँदा पोखरा पुगेर महँगो मूल्य तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको थियो ।





