पोखरा, माघ २८ – चलचित्र पत्रकार संघ कास्की शाखाको चौथो अधिबेशनबाट अध्यक्षमा अरुण गिरी निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न भएको अधिवेशनमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
गिरीले निकटतम प्रतिद्धन्धि राजाराम पौडेललाइ झिनो मतान्तरले पराजित गरे । उपाध्यक्षमा सन्तोष सुवेदी निर्विरोध चयन भए । यस्तै सचिवमा प्रभु अधिकारी सुशन घिमिरेलाई पछाडी पार्दै चयन भएका हुन् । सह—सचिवमा सन्तोष बस्याल निर्विरोध चयन भएका छन् ।
संघको सदस्यहरुमा शंकर तिवारी, आशिष पुरी, प्रकाश राज तिवारी(अर्पण), बिनिता सुनार निर्विरोध चयन भएका हुन् । केन्द्रिय प्रतिनिधिमा बोधराज रेग्मी र सुशन घिमिरे चयन भएका छन् ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक त्रिभूवन पौडेलको संयोजनमा रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको हो ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले मनोरञ्जन क्षेत्र सबैभन्दा बिक्ने क्षेत्र भएकाले यसमा कलम चलाउनेहरुको अभाव पोखरामा खड्किएको अवस्थामा नयाँ कार्यसमितिले ध्यान दिने विश्वास गरे ।
कार्यक्रममा चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले मोफसल पत्रकारिता बिट अवधारणबाट वाच्न नसकेको बताएका थिए । गण्डकी प्रदेशले पोखरालाइ फिल्म सिटी घोषित गरेता पनि विट पत्रकारितामा मोफसल अझै पछि रहेको उनको धारणा थियो ।
त्यस्तै, चलचित्र पत्रकार संघका केन्द्रिय संगठन उपाध्यक्ष दिनेश सिटौलाले पत्रकारले इमान्दार भएर काम गर्नु पर्ने उल्लेख गरे । चलचित्र पत्रकारितामा निश्पक्ष भएर लाग्न नयाँ कार्यसमितिका पदाधिकारीलाई उनको आग्रह थियो । ‘पछिल्लो समयमा चलचित्र पत्रकारितामा नकारात्मक धारणा आएका छन्’, उनले भने, ‘यसले समाजमा चलचित्र प्रति दर्शकहरुको रुचिलाइ घटाएको छ, ।’ उक्त कुरालाइ ध्यानमा राखी काम गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले मोफसलमा व्यावसायिक रंगपत्रपत्रिकाको माहोल थालनी गर्नु पर्ने बताएका छन् । नयाँ कार्यसमितिबाट पोखरा रंगपत्रकारितामा धेरै अपेक्षा गरेको उनको भनाइ थियो ।
निर्वतमान अध्यक्ष रेम विकको कार्यसमितिले यसअघि पोखरामा चलचित्र पत्रकारिता कार्याशाला गोष्ठी, पोखरा फिल्म सोसाइटी र गुरुङ फिल्म एशोसिएसन नेपालको सहकार्यमा चलचित्र समिक्षा कार्यक्रम गर्दै आइरहेको थियो । विककै अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा गुरुङ फिल्म एशोसेसनका अध्यक्ष भोज बहादुर गुरुङ र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान लगायतले बोलेका थिए ।





