पोखरा,२९ माघ – गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले निष्पक्ष भएर अख्तियारले काम गर्नुपर्ने बताएका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २९ औ वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजित समारोहमा बोल्दै शेरचनले नेपाल सधै गरीव हुनुको कारण भ्रष्टाचार नै भएको बताए । ‘व्यक्ति धनि भए ,राष्ट्र सधै गरिब भयो’ , उनले भने, ‘यो समस्याको समाधान गर्न अख्तियारले निष्पक्ष भएर काम गर्नु जरुरी छ ।’ पछिल्लो समयमा अख्तियारले थुप्रै काण्डका दोषीलाई समात्न सफल भएकोमा प्रशंसा गर्दै भ्रष्टाचारको अन्त्य हुने गरि काम गर्न प्रदेश प्रमुख शेरचनले आग्रह गरे ।
सार्वजनिक पद धारण गर्ने ब्यक्तिको पद धारण गर्दा र अवकास हुँदाको सम्पति विवरण अख्तियारले छानविन गर्नुपर्ने उनको भनाई थियो । अहिलकोे कानूनी व्यवस्था,नियम नियमावली कमजोर भएकोले सच्चाउन जरुरी रहेको उउनको भनाई थियो । ‘मान्छे मार्नेलाई जन्मकैद छ ,तर भ्रष्टाचार गर्नेलाई सजाय कम छ’ उनले भने, ‘यो सुधार गर्नु जरुरी छ ।’ उनले कर्मचारीहरुले कसैको दवाबमा नपरी विधि,विधान अनुसार स्वतन्त्र भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए । राष्ट्रलाई समृद्ध बनाउनको लागि अख्तियारको महत्वपूर्ण भूमिका रहने भएकोले आफ्नो आमलाई अझै प्रभावकारी र आम नागरिकको मन जितेर काम गर्न उनले आग्रह गरे । अशिक्षाको कारण आम नागरिकले कार्यालयहरुको विधि, प्रक्रिया थाहा नपाउदा बिचौलियाले फाइदा उठाउने गरेको भन्दै उनले नागरिकहरुलाई सचेत बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा भ्रष्टाचार कम हुने गरेको बताए । उनले गण्डकी प्रदेशमा भ्रष्टाचार रोकथामको लागि अख्तियारले दिएको ६१ बँुदे सुझावको पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाए । सुझाव अनुसार कार्य्बिधि संसोधन गरेर भ्रष्टाचार नियंत्रण गर्दै समृद्द प्रदेश निर्माणको अभियानमा सरकारलाई साथ दिने उनको भनाई थियो । अखितियारले पुष्टी गरेपछिमात्र भ्रष्टाचारका घटना बाहिर आउने भएपनि सानासाना काममा अनियमितता हुने भएकोले सवैले निगरानी गरेर सहयोग गर्नुपर्ने उनले बताए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले नेपालमा वित्तीय अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता प्रकट गरे । अनियमिता गर्नेलाई राजनीतिक संरक्षण हुनु दुःखद भएको भन्दै उनले यसको अन्त्यकालागि सवैले हातेमालो गर्नुपर्ने बताए । सुशासनबिना समृद्धिको यात्रा असम्भव उनले बताए ।अख्तियारले अदालतमा दायर गरेका मुद्धा लामो समयसम्म छिनोफानो नहुने र दोषी ठहर भएपनि सामान्य धरौटीमा रिहा हुने गरेको कारण भ्रष्टाचार मौलाउदै गएको उनको भनाई थियो । पछिल्लो समयमा भ्रष्टाचारको स्वरुप फेरिएकोले अख्तियार पनि श्रोत साधन सम्पन्न र प्रविधिमैत्री हुनुपर्ने उनको धारणा थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले नागरिकले विश्वास गर्नेगरि अख्तियारले काम गर्नुपर्ने सुझाव दिए । अख्तियारमा काम गर्नेका कर्मचारी पनि अन्य कार्यालयमा सरुवा भएपछि भ्रष्टाचारमा मुछिने गरेको भन्दै अख्तियार लुकाएर भ्रष्टाचार गर्न सिक्ने र अन्य कार्यालयबाट आएर छवि जोगाउने कार्यालय बन्न नहुने उनले बताए । अख्तियारलाई साथ दिन पत्रकार महासंघ तयार रहेको उनले बताए । कार्यक्रम पोखरा कार्यालयका निमित्त प्रमुख शम्भु मिश्रको अध्यक्षता, उपसचिव मेगानाथ रिजालको स्वागत तथा लेखापाल देबेन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०४ उजुरी फछ्र्यौट
चालु आ.वमा हालसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले २७४ उजुरी फर्छ्यौट गरेको जनाएको छ । गत वर्षको जिम्मेवारी सरेर आएका २८७ र चालु आ.व मा दर्ता भएका ३७२ उजुरी गरि ६५९ उजुरी रहेकोमा हाल सम्म २७४ फर्छ्यौट भएको आयोगले जनाएको छ । आयोगमा २८५ उजुरी बाँकी रहेका छन । पछिल्लो वर्षहरुमा उजुरीको संख्या बढ्ने क्रम जारी रहेको कार्यालयले जनाएको छ । आयोग पोखरा कार्यालययमा फर्छ्यौट भएका र बाँकी मध्य सवैभन्दा धेरै कास्कीका २९५ र मनाङको एउटा मात्र उजुरी परेको छ । स्याङ्जाका ६८ , तनहूँका ६५ ,पर्वतका ५९ , बागलुङका ४७ ,गोरखाका ४३ ,म्याग्दीका ४२ , लमजुङका ३३ र मुस्ताङका ६ उजुरी परेको कार्यालयका निमित्त प्रमुख शम्भु मिश्रले जानकारी दिए ।





