पर्वत,२९ माघ – रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोजनामा फागुन १ गतेबाट सुरु हुन लागेको ११ औँ प्रदेश स्तरीय महिला महोत्सवको पूर्व सन्ध्यामा मंगलवार गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
महोत्सव गर्न लागिएको जुकेधारा खेल मैदानमै आयोजना गरिएको रक्तदानमा पर्वत, म्याग्दी र बागलुङ लगायतका अन्य जिल्लाका व्यक्तिहरुले पनि रक्तदान गर्नुभएको छ । रक्तदान कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल रामकृष्णले महिलाहरुको व्यवस्थापनमा मात्र संचालित रेडियोले गर्दै आएका बिभिन्न कार्यक्रमहरुले समाजमा फाईदा पु¥याएको भन्दै यात्रालाई निरन्तरता दिन अनुरोध गर्दै महोत्सवलाई सफल पार्नको लागि जलजला गाउँपालिकाले पूर्ण रुपमा सहयोग र सहकार्य गर्ने बताउनुभयो ।
रेडियोकी अध्यक्ष कल्पना चापागाईँको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संचालन रेडियोकी कायर्मक्रम संयोजक दुर्गा शर्माले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडिक्रस सोसाईटी कास्की र पर्वत शाखाले पनि सहयोग गरेका थिए ।
यसैगरी, महोत्सवको पूर्व सन्ध्यामा मंगलवार महोत्सव आयोजना गर्न लागिएको जलजला गाउँपालिका ३ वारी बेनीको जुकेधारा खेल मैदान आसपासमा रहेका टोलहरुको सरसफाई गरिएको छ ।
महोत्सव मुखैमा आएका बेला स्थानीय बासिन्दाहरुले आफुनै सक्रियतामा टोल तथा घरहरुको सरसफाई गरेका हुन् । मुस्ताङबाट नुन, सुन र उन आयात गर्ने प्राचिन भन्सारको रुपमा समेत रहेको बेनी बजारमा जाने पाहुनाहरुलाई स्थानीय ठाउँको पहिचान दिलाउन तथा महोत्सवलाई सफल पार्नकै लागि स्थानीय नागरिक र टोल सुधार समिति, लायन्स क्लब, उद्योग वाणिज्य संघको मल्लाज उपशाखा, आमा समूह, महिला समूह, यूवा क्लब, समाजसेवी तथा बुद्धिजीविहरुले बजार सरसफाई गरेको बताएका छन् ।
उद्योग वाणिज्य संघ पर्वतको मल्लाज उपाशाखाका संस्थापक अध्यक्ष तथा समाजसेवी नरबहादुर कार्कीले पर्वतमा आयोजना गर्ने गरिएका सबै मेला तथा महोत्सवहरु सदरमुकाम कुश्मामा केन्द्रित हुने गरेको सन्दर्भमा रेडियो दिदीबहिनीले भने वारी बेनी बजारको प्रवद्र्धन पनि गर्ने उद्धेश्यले जलजलामा कार्यक्रम राख्नु खुसीको कुरा भएको बताए । महोत्सवलाई सफल पार्नका लागि म्याग्दी र पर्वत दुवै जिल्लाका सबै पक्षहरुले आवश्यक सहयोग गरिरहेको र त्यसैको परिणाम स्वरुप बजार सरसफाई गरिएको कार्कीको भनाई छ ।
सरसफाई कार्यक्रममा रेडियोकी अध्यक्ष तथा संबिधान सभाकी सदस्य कल्पना चापागाईँ समेत झाडु बोकैरै बजारमा निस्कनुभएको थियो । महिलाहरुको व्यवस्थापनमा मात्र संचालनमा रहेको रेडियोले हरेक महोत्सवको आयोजना गर्न सक्नु र त्यसमा सम्बन्धित सबै पक्षहरुले सहयोग गर्नु खुसीको कुरा भएको उनको भनाई छ ।
फागुनको ११ गतेसम्म संचालन हुने महोत्सवको फागुन गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।





