पोखरा,२९ माघ – पोखरामा प्राविधिक तथा व्यवसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको बुधबार शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी को आयोजनामा पोखरा प्राविधिक शिक्षालय मार्फत जनचेतना अभियान सञ्चालन गरिएको हो ।
देशका तीन जिल्ला जनकपुर, पोखरा र टिकापुरबाट पाइलट प्रोजेक्टको रुपमा यो अभियान सञ्चालन हुन लागेको हो । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम र स्वरोजगार एवम् रोजगारीका अवसरको प्रबद्र्धनका लागि सञ्चालन गरिएको अभियानको सुरु गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अबको युग सीप र प्रविधिको युग भएकोले सीपमा पनि नविनतम सोच आवश्यक रहेको बताए । उनले प्रमाणपत्रको बोक्नेहरु बेरोजगार भइरहेको परिवेशमा हातमा सीप हुनेहरु आत्मनिर्भर भएर सहज जिविकोपार्जन गर्न सफल हुने उनको भनाई थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले रोजगार दाता र उत्पादित प्राविधिक जनशक्ति बीच समन्वय हुन सके मात्र गुणात्मक परिणाम आउने बताए । सिटिभिटिले वार्षिक ७४ हजार ८ सय ६३ लामो अवधिको भर्ना क्षमता र ५० हजार छोटो अवधिको तालिम सञ्चालन गरेको ब्रजाचार्यले जानकारी दिए। उनले उत्पादिन जनशक्तिको शतप्रतिशत रोजगारको अवसर सृजना गर्न र प्राविधिक शिक्षा तर्फ युवाहरुको आर्कषण बढाउन सचेतना अभियानले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवन भण्डारीले पोखरा देशमा उत्कृष्ट प्राविधिक जनशक्ति उत्पादन गर्ने पर्यटन प्राविधिक शिक्षालयको रुपमा रहेको बताए। उनले सचेतना अभियानले आगामि दिनमा पर्यटनलाई सीपसँग जोडिन चाहाने युवालाई आर्कषण गर्न सक्ने बताए ।
कार्यक्रममा टान पश्चिमाञ्चलका अध्यक्ष हरी भुजेलले सृजनात्मक सीप मात्र बजारमा विक्ने परम्परागत भन्दा समयको माग अनुसारको तालिम आजको आवश्यकता रहेकोमा जोड दिए । होटल एशोसियशन अध्यक्ष विकल तुलाचनले पर्यटन क्षेत्रमा अझै पनि दक्ष जनशक्ति अभाव रहेकाले पूर्ण दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्राविधिक शिक्षाप्रति अझै पनि सकारात्मक सोचको विकास हुन नसकेको बताए । कम पढेको र जागिर नपाएकाले मात्रै सीप सिक्ने भन्ने सोचाइले प्राविधिक शिक्षाको महत्व ओझेलमा पारेको उनले बताए ।
कार्यक्रममा फोरम फर टेक्निकल एजुकेशनका गण्डकी प्रदेश प्रमुख टंक अधिकारी ,महिला पर्यटन व्यवासायी मञ्चका अध्यक्ष जमुना पराजुली, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का गण्डकी प्रदेश प्रमुख रामहरी देवकोटा लगाएतले बोलेका थिए ।
कार्यक्रम सिटिभिटिमा विद्यार्थीले तयार गरेको खाना तथा पेय पदार्थ प्रदर्शन, सीप प्रतिष्पर्धा, इन्जिनियरीडको प्रदर्शन, नर्सिडको प्रदर्शन, हस्पिटालिटि र टुरिज्म क्षेत्रको सहभागिता रहेको थियो ।





