पोखरा,५ फागुन – पोखरा महानगरपालिकामा अब २५ लाख रुपैयाँसम्मका पूर्वाधार विकास साझेदारीतर्फका आयोजनाको सम्झौता वडा तहबाटै हुने भएको छ ।
पोखरा महानगरपालिकाको ३६ आँै कार्यपालिका बैठकले वडास्तरीय आयोजनाको सम्झौता वडासचिव र इञ्जिनियरले नै गर्नसक्ने निर्णय गरेको हो । यसैगरि महानगरपालिकाले वडाबाट दिइने सेवालाई प्रभावकारी बनाउनको लागि सुझाव दिनेगरि प्रमुख लेखा नियन्त्रक जयराम पौडेल,भरतराज पौडेल र इञ्जिनियर सारदामोहन काफ्ले रहेको एक समिति पनि गठन गरेको छ ।
यता महानगरले सहरी योजना आयोगलाई पूर्णता दिएको छ । सहरी योजना आयोगको अध्यक्षमा महानरपालिकामा प्रमुख मानबहादुर जिसी रहेका छन् भने सदस्यहरुमा पोखरा–७ का रामचन्द्र लामिछाने, पोखरा–८का बाबुराम भण्डारी, पोखरा–४ का सरोज कोइराला,पोखरा –२६ की सोनी बरालसहित महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ अधिकारी सदस्य सचिव रहेका छन् । सहरी योजना आयोग गठन तथा संचालन कार्यविधि २०७४ को दफा ३ बमोजिम यो आयोग बनेको छ ।
महानगरले आउँदो आर्थिक वर्षको बजेट तर्जुमा गर्नको लागि महाशाखाबाट बजेट प्रस्ताव गरि आगामी बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ । महानगरले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल विद्युत प्राधिकरणलाई पोखरा–३३, भोटेपोखरीमा विद्युत ट्रान्सफर्मर उद्योग तथा प्लाण्ट संचालनको लागि सैद्धान्तिक सहमति पनि दिएको छ ।





