पोखरा,६ फागुन – प्रत्येक १०–१० वर्षमा गरिने राष्ट्रिय जनगणना अन्तरगत २०७८ सालमा गरिने राष्ट्रिय जनगणमा पहिलो पटक सामुदायिक प्रश्नावलीको प्रयोग गरिने भएको छ ।
राष्ट्रिय जनगणनालाई अझै विश्वसनीय र गुणस्तरीय बनाउनको लागि र मानव विकास, सहरीकरण, स्थानिय रितिरिवाज, संस्कृति, भाषा, जातजातिको विशेषतालाई समेत उजागर गर्दै जनगणलाई प्रभावकारी बनाउनको लागि नेपालमा पहिलो पटक जनगणनामा सामुदायिक प्रश्नावलीको प्रयोग गर्न लागिएको हो । त्यस्तै अब हुने जनगणनामा ६ महिना बसोबास गरेको स्थानबाट नै व्यक्तिको गणना हुनेछ । जनगणनाको तथ्याङ्कलाई बलियो बनाउन र बसोबासको अवस्था तथा ग्रामीण भेगको बसाई सराईलाई समेत तथ्याङ्कमा राख्नको लागि ६ महिनादेखि बसोबास गरेको स्थानबाट नै गणना गरिएको हो । यो राष्ट्रिय जनगणना १२ औँ राष्ट्रिय जनगणना हो ।
नेपालमा वि.सं.१९६८ साल देखि जनगणना शुरु भए पनि वि.सं.१९९८ सम्म भएका चार जनगणनाहरु सामान्य व्यक्ति गणनाका रुपमा मात्र सिमित थिए । वि.सं. २००९ देखिको जनगणनालाई तुलनायोग्य आधुनिक ( वैज्ञानिक ) जनगणना मानिन्छ त्यस पछि २०४८ सालको जनगणनाबाट सामाजिक तथा लैंगिक समावेशीकरण सुरु गरिएको थियो । अब ०७८ सालबाट भने सामुदायिक प्रशनावली समेत समावेश गरिनेछ । ०५८ र ०६८ को जनगणनामा पूर्ण गणना र नमुना सर्वेक्षणको समेत प्रयोग गरिएको थियो । ०७८ भने संघीय संरचनामा पहिलो गणना हुने छ । ०७८ को गणनामा सम्पुर्ण घरहरुको प्रयोजन सहितको गणना समेत गरिने छ । ‘राष्ट्रिय जनगणना ०७८ को धेरै विशेषताहरु रहेका छन्, हामीले प्रविधिको प्रयोग गर्दै स्थानिय तह अनुसार नै नतिजा प्रकाशन गर्नेछौँ’,राष्ट्रिय जनगणना केन्द्रय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले भने,‘यो जनगणनामा हामिले ६ महिना जता बसोबास गरेको हो त्यही क्षेत्रबाट नै गणना गर्नेछौँ । जनगणनाको ९ महिनाभित्रै तथ्याङ्कीय प्रतिवेदन समेत सार्वजानिक गर्ने उनको भनाइ छ । यस्तै जनगणनामा मिडियाको भूमिकाको बारेमा बोल्दै मिडिया जनगणनाको लागि अपरिहार्य तत्वको रुपमा रहेको बताए । राष्ट्रि जनगणना सफल बनाउनको लागि विभागले सबै प्रकारको संचार माध्यमको समेत प्रयोग गरिने जानकारी उनले दिए । राष्ट्रिय जनागणना २०७८ मा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लामिछानेले मिडियाको कारणले नै बास्तविक र तथ्यपरक गणना गर्न सकिने बताए ।
सोही कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जनगणना र मिडियाको सम्बन्ध अनुयाश्रित रहेको बताए । ‘मिडिया भनेको तथ्यपरक हुन्छ त्यसैले गणनामा केही त्रुटि भए पनि मिडियाले खवरदारी गर्छ, प्रचार प्रसारको माध्यम पनि मिडिया हो, यो महत्वपूर्ण पाटो हो’, केसीले भने । त्यस्तैे नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले प्रदेश अनुसार नै फरक फरक प्रशनावली वनाउनको लागि सुझाव दिए । हरेक प्रदेश अनुसार फरक फरक समुदाय भएकै कारणले एउटै प्रश्न सबैसँग मिल्न नसक्ने बताए ।





