आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति सांसदको आपत्ति

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति सांसदको आपत्ति


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७६, मंगलबार

पोखरा, ६ फागुन – राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले मुख्यमन्त्रीले माफी माग्नुपर्ने बताएकी छन् । सोमबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै थापाले मुख्यमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति मात्र जनाइनन्, माफी पनि माग्नुपर्ने माग राखिन् ।
आइतबारमात्रै गण्डकी सरकार तेश्रो वर्षमा लागेको छ । उक्त अवसरमा आयोजित समारोहमा बोल्ने क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रयोग गरेका वाक्यांशप्रति सांसद थापाले आपत्ति प्रकट गरेकी हुन् ।
मुख्यमन्त्री गुरुङले आइतबार समारोहमा, “नेपालको सन्दर्भमा चाहिँ संघीयताले राम्रो सम्बोधन गर्न नसकेको अर्को पाटो भनेको वित्तीय संघीयताको पाटो हो । कृषि आयमा कर बाहेक अन्यमा प्रदेश सरकारले उठाउन पाउँदैन । तर, दुनियाँमा हल्ला चलिराखेको हुन्छ, सडकमा कुकुरहरु भुकिराख्या हुन्छ । रुखरुखमा कागहरु कराइराख्या हुन्छन् । प्रदेश सरकारले करमाथि कर थोपर्यो, के गर्न खोज्या भन्छन ?” भन्ने अभिव्यक्ति दिएका थिए । गुरुङले कृषि आयमा बाहेक अन्य कर उठाउने विषय संविधानमा व्यवस्था नभएका कारण गण्डकी सरकारले कसरी करमाथि कर उठाउन सक्छ ? भन्ने प्रश्न गरेका थिए ।
उनले यतिमात्र नभई, संघीयतालाई बद्नाम गर्न खोज्ने मान्छेहरुको अफवाह रहेको समेत बताएका थिए । उनले संघीय शासनप्रणाली माथिको आक्रमण विभिन्न कोणबाट भइराखेको र त्यसको यथोचित जवाफ दिनका लागि संघीयतालाई बद्नाम गर्ने काम गण्डकीले नगर्ने र यसमा सचेत रहेको बताए ।
मन्त्री गुरुङको सोही अभिव्यक्तिलाई लक्षित गर्दै सांसद थापाले मुख्यमन्त्रीको अभिव्यक्ति अमर्यादित र अराजनैतिक रहेको बताइन् ।
“म विरोधकै लागि विरोध गर्नुपर्छ भन्ने पक्षमा छैन, आजको विशेष समयमा सरकारको प्रमुख व्यक्तित्व जो मुख्यमन्त्री हुनुहुन्छ, हिजोको कार्यक्रमको अध्यक्षता उहाँकै थियो । उहाँले एउटा विषयमा खण्डन गर्ने सन्दर्भमा जुन प्रकारको वाक्यांशको प्रयोग गर्नुभएको छ, जो अत्यन्तै अमर्यादित, अराजनैतिक किसिमको छ । सभामुख महोदय देशमा कर वृद्धि भइरहेको छ, मूल्य वृद्धि भइरहेको छ, सेवा शुल्क वृद्धि भइरहेको छ भनेर अभिव्यक्ति आज कसले दिइरहेको छ ? प्रतिपक्षले मात्रै दिएको अवस्था हो ? पक्कै होइन । आम जनताले भोगेको पीडा हो । आज जहाँ जानुहोस कर, मूल्यवृद्धि भयो भनेर चर्को आवाज उठिरहेको छ । मान्चेलाई माथिबाट ढुगाले थिच्ने अनि ऐया भन्न पनि नपाउने ? यो कहाँको लोकतन्त्र हो ?” उनको प्रश्न थियो ।
यस्तै, उनले मुख्यमन्त्रीलाई आत्मालोचना गर्न सुझाव पनि दिइन ।
“सरकारलाई निर्वाचित बनाएर पठाउने, आम जनतालाई पशुपंक्षी सँग जोडेर जुन भँडास मुख्यमन्त्रीले पोख्नुभएको छ, ‘कुकुर भुक्यो, काग करायो’ उक्त वाक्यांश तत्काल फिर्ता लिनुपर्छ । जनतालाई पशुपंक्षी सँग तुलना गर्ने अधिकार कहाँबाट मिल्यो ? उक्त विषय गम्भीर प्रकारको छ । मुख्यमन्त्री गम्भीर आलोचना गर्दै उक्त वाक्यांश तत्काल फिर्ता लिनका साथै आत्मालोचित हुनका निमित्त पनि जोडदार माग गर्दछु । ” उनले भनिन् ।
यस्तै, उनले जनप्रतिनिधीलाई घाँस खाने भनेर कटाक्ष गरेकोमा पनि आपत्ति प्रकट गरिन् ।
“सेवासुविधाको विधेयकको सन्दर्भमा पनि एउटा सार्वजनिक कार्यक्रममै जनप्रतिनिधी तथा प्रदेशसभाका सदस्यहरुलाई एक मुठा घाँस खाने, दुई मुठा घाँस खाने भनेर कटाक्ष गर्नुभएको थियो । घाँस कसले खान्छ ?” उनले प्रश्न गरिन, “त्यसकारण बोल्ने क्रममा दिएको यस्ता खालको अपमानजनक, अमर्यादित शब्दावलीहरुमाथि बन्देज गरिनुपर्छ । सरकारको प्रमुख भएकै आधारमा अमर्यादित र अराजनैतिक खालको भाषाको प्रयोग गर्ने छुट छैन् । त्यसकारण उहाँको गम्भीर आलोचना गर्दै आगामी दिनमा त्यस्ता क्रियाकलाप नदोहोरियोस भन्ने माग गर्दछु ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->