पोखरा,७ फागुन – महाशिवरात्रीको अवसरमा आउँदो फागुन ९ गते नमस्ते ब्याण्डले पोखरामा विश्व सङ्गीत महोत्सव आयोजना गर्ने भएको छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डसहित नेपालका चर्चित कलाकारको प्रस्तुति रहने छ । कार्यक्रममा दीप श्रेष्ठ, गंगा बरदान , राजेशपायल राई, याम बराल, उदय–मनिला र श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्राश्ना पाण्डे, अमृता लिम्बु र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशलगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।
ब्याण्डहरुमा पिजेपिस जोइन्ट बयाण्ड (अमेरिका), नमस्ते ब्याण्ड (जापान र नेपाल), रन युनिटी (लाइन स्टार) युके, बमशिव मिनामी जापान, हिता ग्रुप (तिब्बत, एनइओ प्रिज्म), १९७४ एडी, कुटुम्ब ब्याण्ड, सि—वाज (कृपा फाउण्डेशन), प्रमोद निरवान्स एण्ड म्युजिक लिङ्कस, हिमालयन एण्ड कल्टीभेसन, श्री—थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्टलगायतको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।
लेकसाइडको बाराहीघाटमा हुने १५ औं संस्करणको महाशिवरात्री संगीत महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नेछन् । मध्यान्ह १२ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश टिकट रु १०० राखिएको छ ।
ब्याण्डको ३१ औँ वार्षिकोत्सवको अवसरमा संगीत महोत्सव गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मलेनमा महोत्सवका संयोजक ईश्वर गुरुङ जानकारी गराए ।
कार्यक्रमबाट संकलित रकममध्ये १ २ लाख २५ हजार रुपैंया पुम्दीकोटमा निर्माणाधीन शिवमूर्तिका सहयोग गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा संगीतकार न्यू बज्राचार्यलाई सम्मान गर्ने गुरुङ्ले जानकारी गराए । हालसम्म ब्याण्डले ३ सय भन्दा बढी कलाकारलाई सम्मान गरेको उनले दावी छ ।कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा एसटी क्रिएशन म्यानेजमेन्ट प्रालिले पाएको छ । नमस्ते ब्याण्डको स्थापना ३० वर्ष अघि भएको थियो । जापानबाट पहिलो पटक नेपालको पहिलो गीति सिडी एल्वम् (एकता) को बिक्री गरी नेपालको पहिलो ब्याण्डको रुपमा परिचित भएको गुरुङले उल्लेख गरे । ब्याण्डले सामाजिक संघ संस्थाहरुको सहयोगार्थ निशुल्क सेवा दिदै आएको उनले बताए ।
विश्वको अग्लो स्थान ५६४३ मिटर कालापत्तथर सगरमाथामा वल्र्ड हाईयेष्ट पिस कन्सर्ट गरेर ब्याण्डको नाम गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा लेखाउन सफल भएको उनले बताए । गुरुङका अनुसार ब्याण्डले पर्यटन वर्ष १९९८ मा नेपालमा पहिलो पटक ३० दिनमा २९ प्रमुख सहरहरुमा मेची महाकाली सन्देश नामक सांगीतिक यात्रा गरेको थियो ।ब्याण्ड रेडियो नेपाल, २०५२ सालमा राष्ट्रिय सन्देशमुलक गीत प्रतियोगितामार्फत सर्वोत्कृष्ट संगीत पुरस्कार, २०५६ सालमा ‘शान्ति शान्ति…’ बोल गीतबाट गायन, रचना र संगीत गरी तिनै विधामा प्रथम पुरस्कारबाट सम्मानित भएको उनले बताए ।





