पोखरा,८ फागुन – पोखरा रंगशालाभित्र बनाउन लागिएको सुटिङ रेन्जको लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश शिलवालले सुटिङको लागि १ –२ दिन भित्र टेन्डर आह्वान गर्ने तयारी गरिएको बताएका छन । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव शिलवालले सुटिङको लागि टेन्डर आह्वानको सम्पुर्ण तयारी भएको जानकारी दिए । सोही क्रममा बोल्दै उनले स्वीमिङ्गको लागि समेत पुन डिजाइन गर्न लगाइएको बताएका छन् । सुटिङको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुटिङ रेन्जको निर्माण गर्ने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का प्राविधिक टोलिले स्थलगत अवलोकन पछि जग्गा छनोट गरी टेन्डरको लागि आह्वान गर्ने तयारी गरेको हो ।
सुटिङको ३५ मिटर लम्बाइ र २८ मिटर चौडाइको भवन भन्ने छ जस्मा २ वटा चेन्जिङरुम, १ अफिस ,१ स्टोर रुम सुटिङ रेन्ज लम्बाई र चौडाई २५–२५ मिटरको पुर्वाधार निर्माण गर्ने योजना अघि बढेको हो ।
गत भदौ ९ गते बसेको बैठकको निर्णयले सुटिङको कभर्ड हल निर्माण गर्ने योजना पारित गरेको ६ महिना पछि बल्ल टेन्डर प्रक्रियामा जान लागेको हो । पोखरामा २०७७ फागुन २० गतेदेखि शुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि १० मिटर एयर पेष्तोल र राईफलको प्रतिस्पर्धा गराउने लक्ष्यसहित पुर्वाधारको काम शुरु गरिएको हो ।
परिषदले सुटिङ रेन्जको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाइएको बजेटबाटै रेन्जको पुर्वाधार तयार गरिने छ । २५ मिटर भित्रैमा खेलाडीको लागि चेन्जिङ रुम, शौचालय, अफिस तथा दर्शकदीर्घाको लागि समेत प्यारापिट अटाउने पुर्वाधार तयार गरिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालाभित्र स्वीमिङ पुल निर्माण गर्नुपर्ने खाँचो छ । समयमै टेण्डर प्रक्रिया नथाल्दा समयमै बन्ने सम्भावना नहुने खेलकुदकर्मी बताउँछन् ।





