पोखरा, ९ फागुन – नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष जीउलाल चौधरीले खानेपानी संस्थानले दिने सेवा उपभोक्तामैत्री हुनु पर्ने बताएका छन् । पोखरा शाखामा आयोजित ‘स्वस्थ्यकालागि अतिरिक्त समयमा खेल’ भन्ने नाराका साथ भएको ब्याडमिन्टन खेलका सामग्री हस्तान्तरण सभामा चौधरीले उक्त भनाई राखेका हुन् । पोखरा महानगरभित्रका ३ वटै शाखाका प्रमुखलाई खेल सामग्री हस्तान्तरण गर्दै स्वास्थ्य कर्मचारीले स्वच्छ सेवा दिन सक्ने बताए । अध्यक्ष चौधरीले संस्थानको फागुन १५ मा हुने वार्षिकोत्सवलाई लक्ष्य गर्दैै खेलिने ब्याडमिन्टन प्रतियोगिताले सफलता पाउने भन्दै खेललाई निरन्तरता दिन आग्रह गरे । अध्यक्ष चौधरीले पोखरा शाखाका प्रमुख आशिष कार्की, सेतीपारी शाखाका प्रमुख रोकश गोइत र हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादवलाई ब्याट, कक र नेट हस्तान्तरण गरेका थिए ।
अध्यक्ष चौधरीले आफ्नो १ वर्षे कार्यकालमा धेरै योजना पूरा गरेको बताउँदै नमिलेका तथा ऐन, विनियममा सुधार गर्नुपर्ने विषयमा क्रियाशील भएर सुधार गर्न लाग्ने बताए । उपभोक्ताको हितमा संस्थान सधै रहेको बताउँदै कर्मचारीले प्रभावकारी सेवा दिन निर्देशन दिए । अध्यक्ष चौधरीले मन्त्रालयको योजना अनुरुप देशभरका नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराउने नीति अन्तर्गत संस्थानको कार्यक्षेत्रका नागरिकलाई स्वच्छ पिउने पानी वितरण गरिँदै आएको उल्लेख गरे ।
पोखरा शाखाका प्रशासन प्रमुख दिपेश्वर मण्डलको अध्यक्षतामा भएको खेल सामग्री हस्तान्तरण सभामा नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशिष कार्कीले कर्मचारीको एकतामा खेलले उर्जा थप्ने बताए । कार्कीले स्वास्थ्य कर्मचारीबाट सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सक्षम हुने बताए । उनले पोखरा शाखामा कार्यरत १ सय बढी महिला तथा पुरुष कर्मचारीले खेललाई नियमित गर्न सुझाव दिए । शाखाका कम्युटर अपरेटर बिक्रम बरुवालले खेलको नियमबारे जानकारी गराएका थिए ।
खेल सुरुआतमा नेपाल खानेपानी संस्थान सेतीपारी शाखाका प्रमुख इन्जिनियर राकेश गोइतले अन्तर कार्यालय केन्द्रित प्रतियोगिता गर्न कर्मचारीलाई आग्रह गरे । प्रमुख गोइतले प्रधान कार्यालयको नीति र योजनामा सबै कर्मचारी हिड्नु पर्ने भन्दै उपभोक्ताको सेवामा कर्मचारीले कुनै कसर राख्न नहुने बताए । कार्यक्रममा नेपाल खानेपानी संस्थान हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादवले खेलले जीवनलाई सकारात्मक उर्जा दिने भन्दै निरन्तरता दिन आग्रह गरे । प्रमुख यादवले सबै कर्मचारीको मन र मस्तिस्क सेवामुखी हुनुपर्ने भन्दै कार्यालयलाई घर सम्झन अनुरोध गरे ।
शाखाका कर्मचारी केदार धमलाले सञ्चालन गरेको खेल सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी कर्मचारीले ब्याडमिन्टन खेललाई प्रतियोगितामा बदल्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा कर्मचारीको मनोभाव वृद्धि गर्न खेलकुद प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने बताए ।
यसैबीच खानेपानी संस्थान पोखरा शाखाका विद्युतीय हाजिरी सेवा सुरु भएको छ । सेवा सुरुआत गर्दै सेतीपारी शाखाका प्रमुख राकेश गोइत र पोखरा शाखाका प्रमुख आशिष कार्कीले विद्युतीय हाजिरले कर्मचारीलाई हौसला मिल्ने बताए । दक्ष र योग्य कर्मचारीले शाखामा दुख पाएको घटना आफूलाई जानकारी रहेको भन्दै कार्यालय प्रमुख गोइतले कामचोर कर्मचारीलाई विद्युतीय हाजिर प्रणालीले नछाड्ने बताए





