बागलुङ, २३ फागुन – १५ दिन लामो अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला बागलुङको गलकोट स्थित टेउवामा सम्पन्न भएको छ । यो अवधिमा सयौं मानिस कार्यशाला हेर्न पुगे । लेखाजोखा नभएपनि दोहोरिएको उपस्थितिलाई ५० हजार मानिस त्यहाँ पुगे भन्न सकिने स्थानीय आयोजकहरु बताउँछन् । सयौं मानिसको ओहोरदोहोर हुने र बिदेशी कलाकार आउने भएकोले हरिचौरदेखि टेउवा सम्मको सडक सामान्य स्तरोन्नती गरिएको थियो । जिप चढेर ३० मिनेटमा पुग्न सकिने गरी सडकको मर्मत भएको थियो । टेउवा यसअघिका ६० घर भएको बस्ती मात्र थियो । छुट्टै पहिचान थिएन ।
त्यसमध्ये आधाजसो जापान र अन्य सहरी क्षेत्रमा बसाई सरेर रित्तो जस्तै भैसकेको छ । गाउँलेहरु यहाँ बस्ने दिन गनिरहेका छन् । यातायातको कठिनाई, समयमा औषधि उपचारका लागि अप्ठ्यारो, खानेपानीको समस्या जस्ता कारणले उनीहरुले आफ्नो क्षेत्रलाई राम्रो छ भन्न सकेका थिएनन् । केही बर्षअघि घुम्टेमा महोत्सव हुँदा टेउवामा सामान्य चहलपहल भयो । तर, दिगो बिकासको बाटो खुलेको थिएन । गत बर्ष नगरपालिकाले सडकलाई घुम्टेको तल्लो खण्डसम्म लैजाने भन्दै केही लगानी गरेको थियो । तर, गाउँको आर्कषण बढाउन सकिएको थिएन । अहिले गलकोट कला प्रतिष्ठानले यहाँ अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला ग¥यो । पन्ध्र दिनसम्म कार्यशाला चलेकोले धेरैले टेउवाको नाम सुने अनि देख्न पनि पाए । नजिकै भएर पनि नगएकाहरु अहिले त्यहाँ पुगेर आफ्नै गलकोट उपत्यका र घुम्टेलाई नियाल्दा यो पर्यटकीय क्षेत्र बन्ने रहेछ भनेर धेरैलाई विश्वास भयो । कार्यशालाले यो अभियानलाई उर्जा थपेको छ । अबदेखि घुम्टे महोत्सव समेत यहाँ गर्नुपर्छ भन्ने धेरैले सन्देश दिन थालेका छन् ।
१० बिदेशी र ५ नेपाली कलाकारले कुँदेका मुर्तिहरु धेरै ठूला छन् । मानिसले बोकेर यताउता गर्न सक्दैनन् । त्यसैले सहजै यो अन्यत्र सार्ने कुरा पनि हुँदैन । बरु यसलाई यही दिगो रुपमा राखेर पर्यटन केन्द्र बनाउने लक्ष र योजनाहरु बुन्न थालिएको छ । अब झण्डै ५ किमी लामो टेउवा सम्मको सडक स्तरोन्नती गर्ने चुनौती नगरपालिका र स्थानीय बासिन्दामा थपिएको छ । यहाँ पिकनिक स्पोट बनाउने, बिदेश र नेपालका धेरै ठाउँबाट घुम्न आउनेलाई यहाँ सजिलै लैजाने र सकेसम्म माथिनै बस्ने व्यवस्था गर्ने काम चुनौतीको पहाड जस्तै छ । त्यसका लागि लगानी आवस्यक छ । प्रतिष्ठानले १६ करोड रुपैयाँको गुरुयोजना बनाएको अध्यक्ष पूर्णबहादुर रानाले बताए । ‘यो अभियानलाई सफल पार्न सरकारी बजेट समेत आवस्यक पर्छ, गाउँलेले पनि सहयोग गर्छन्’ रानाले भने, ‘गुरुयोजनाबाहेक अन्य पूर्वाधारमा स्थानीय र प्रदेश सरकारको भूमिका देखिनु पर्छ ।’ ‘पहिलो पटक अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको नाम समेत पाएकोले टेउवामा लगानी गर्न गण्डकी प्रदेश सरकार, नेपाल सरकार र स्थानीय नगरपालिकालाई कुनै अप्ठ्यारो पर्नु हुँदैन’ मुर्तिकार ओम खत्रीले भने, ‘यो ठाउँ बन्यो भने फाइदा पनि यही बस्नेलाई हो ।’
सडक कालोपत्रे गर्ने वा ढलान गर्ने पहिलो चुनौती हो । भएका र बनेका संरचनाको सुरक्षा गर्ने काम पनि उत्तिकै महत्वपूर्ण छ । ‘हरेक मुर्तिहरु चुस्त दुरुस्त बन्ने, तारबार, सुरक्षा र रंगरोगन गर्ने काम सजिलो छैन’ प्रतिष्ठानका लेखा संयोजक यामबहादुर श्रीषले भने, ‘अब हाम्रो सभ्यता र प्रतिष्ठा जोगाउने जिम्मा हाम्रै काँधमा आएको छ ।’ नगरप्रमुख भरत शर्मा गैरेले पनि यो अभियानलाई पूर्णता दिने, सुरक्षा गर्ने र पूर्वाधार निर्माणमा साथ दिने बताए । ‘घुम्टे र टेउवाको पर्यटन बिकासमा हामीपनि साथ दिन्छौं र गर्व गर्न लायक बनाउँछौं’ गैरेले भने, ‘सडकतर्फ नियमित लगानी पनि भैरहेको छ ।’ ग्रेड नमिलेको सडक भएकोले लगानी धेरै चाहिने र ढलानै गर्नुपर्ने बाध्यता उनले सुनाए । गलकोटेले पुरानो सदरमुकामको बिरासत थाम्नका लागि पनि पर्यटकीय गन्तव्य बनाउनेमा सहमत छन् । यहाँका बचेखुचेका घरमा होमस्टे निर्माणमा जोड दिनुपर्ने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालको सुझाव छ । ‘होमस्टे बनाउन पूर्वाधार निर्माणतर्फ प्रदेश सरकारले पनि सहयोग गर्छ’ लम्सालले भने, ‘गुरुयोजना सफल बनाउन सक्दा पर्यटन प्रवद्र्धन हुने भएकोले प्रदेश सरकारको मुख्य एजेण्डा पनि मिल्न जान्छ ।’ प्रदेशको समृद्धिका आधारमा गण्डकी प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको छ ।
कम्तिमा दुइचारवटा सुबिधा सम्पन्न होटल तथा रेष्टुरेन्टको व्यवस्थापन गर्नुपर्ने कलाकारको टोलीले पनि सुझाव दिएको छ । ‘राम्रो होटल र सत्कार भयो भने बिदेशी पर्यटक आउँछन्’ खत्रीले भने, ‘अब यो मुर्तिकलाको अनुसन्धान केन्द्र पनि बन्छ, धेरै बिद्यार्थीको आउजाउ बनाउन सेवा सुबिधा पनि बिकाउन सक्नुपर्छ ।’ राना र खत्रीले जिल्लाको पहिचानका आधार, कला र संस्कृतिको झल्को दिने धेरै बस्तुहरु यहाँ निर्मित संग्राहलयमा थप्ने योजना पनि बनाएको बताए । ‘एउटै कलाकारले बनाएको एउटा मुर्तिबाट उसको इतिहास, भावी योजना र समय अनुसारका परिस्थितिको अनुमान लगाउन सकिन्छ’ कलाकार राजु पिकाथोकीले भने, ‘परिवर्तन भएको हावापानी र जलवायु परिवर्तनको असर न्युनिकरणका उपाय पनि यहाँबाट सिकाउन सकिन्छ ।’ कार्यशालामा २ करोड खर्च भएको अनुमान छ । यो खर्चको औचित्यता पुष्टी गर्ने र भविष्यमा करोडौं रुपैयाँ भित्राउने अभियानमा सबैको हातेमालो हुनुपर्ने खत्रीको सुझाव छ । अब मेरो गाउँ, मेरो जिल्ला र मेरो देश चिनाउन लगानी भएको छ भन्ने स्थानीय तहदेखि केन्द्रीय सरकार समेत तयार बन्ने अबसर बनाउनु पर्ने समेत उनको भनाई छ । त्यो लगानी भित्राउने र लगानी सदुपयोग भएको देखाउने चुनौती भने गलकोटेहरुमा आइपरेको उनको टिप्पणी समेत छ ।





