बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखामा डा.काेइरालाकाे गुट भेला, पार्टी निर्णय अवज्ञा !

गोरखामा डा.काेइरालाकाे गुट भेला, पार्टी निर्णय अवज्ञा !


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७६, शनिबार

गोरखा, १ चैत – गाेरखा कांग्रेसले केन्द्रको निर्देशन अवज्ञा गर्दै शुक्रबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्‍चालन गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण प्रशिक्षण, भेला स्थगन गर्न पार्टी केन्द्रले जारी गरेको सूचनाविपरीत गोरखा कांग्रेसले प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा केन्द्रीय सदस्य डा.शेखर कोइराला प्रमुख अतिथीका रुपमा सहभागी थिए ।
डा.काेइरालाई फाेन गरेर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काेराेना भाइरसका कारण पार्टीले कार्यक्रम नगर्ने निर्णय गरेकाे कुरा सुनाएका थिए । तर, डा.काेइरालाले प्रशिक्षण कार्यक्रम सन्चालन गरेरै छाडे ।सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयमा आयोजितप्रशिक्षण रोक्न प्रवक्ता शर्माले समेत निर्देशन दिएका थिए ।‘केन्द्रबाट टेलिफोन आएको थियो, पूर्वनिर्धारित कार्यक्रम भएकाले गरेका हौं’, कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले भने, ‘आमसभा होइन, पाटी विधानको बारेमा जानकारी गराउने कार्यक्रम हो ।’फागुन २१ गते केन्द्रीय कार्यसमितिले सूचना जारी गरी कोरोना भाइरस सचेतनाका लागि प्रशिक्षण लगायत कार्यक्रम स्थगित गर्ने जनाएको थियो ।
महाधिवेशन नजिकिँदै गर्दा डा.कोइरालालाई गुटगत भेला गर्दै हिँडेको संस्थापन पक्षको आरोप छ । कांग्रेसको संशोधित विधान तथा नियमावलीमा भएको नयाँ प्रावधानहरूको विषयमा भएको एक दिने प्रशिक्षणमा जिल्ला कार्यसमति, क्षेत्रीय कार्यसमिति सभापति, वडा सभापति लगायत झण्डै ३ सय नेता, कार्यकर्ताको उपस्थिति थियो ।
केन्द्रको निर्देशनविपरीतको कार्यक्रममा सहभागी नेता डा.कोइरालाले कांग्रेस संसदीय दलको उपस्थित कमजोर देखिएको नेतृत्वको आलोचना गरेका छन् ।‘एकजना व्यक्तिका लागि संविधान संशोधन गर्ने दुस्प्रयास नेकपाले गर्दै छ कति विसंगति ल्याउँदै छ’, उनले भने, ‘यसले संविधान धरापमा पर्न सक्छ, यस्तो बेला कांग्रेस संसदीय दल चुप लागेर बसेको छ, प्रतिपक्ष सुतिराख्यो भने लोकतन्त्र कसरी बच्छ, त्यो भन्दा दु:खदायी के हुन्छ ।’ प्रत्यक्ष निर्वाचित राष्ट्रपति, राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने र राष्ट्रपतिलाई सुरक्षा निकाय परिचालन गर्ने कुरा सुनिए पनि प्रतिपक्ष दलको कुनै रियाक्सन नसुनिएको उनले भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->