बेनी, २ चैत – म्याग्दीको अन्नपूर्ण गाउपालिका-६ खिवाङमा गएराति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो। राति ९ बजे चट्याङ् लागेर घाइते भएका उनीहरुलाई बिहान ३.२० मा बेनी अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि बेनी अस्पतालका शव गृहमा राखिएको छ। मृतक पुन र गर्बुजा छिमेकी हुन्।





