काठमाडौं,५ फागुन – सत्तारुढ नेकपाको बुधबार बसेको सचिवालय बैठकको माहोल केही फरक देखिन्थ्यो । विश्वभरी कोरोनाको संक्रमणको त्रास फैलिरहेका बेला नेकपा सचिवालय बैठकमा उपस्थित सबै नेताहरुले मास्क लगाएका थिए । बैठकमा नेताहरु केही टाढा बसेका थिए । बैठकमा उपस्थित नेताहरुले मास्क लगाउनुमा दुई कारण रहेको बैठकमा सहभागी एक नेताले बताए । मिर्गौला प्रत्यारोपण गराई केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीमा अन्य व्यक्तिमा रहेका समान्य किटाणुले पनि संक्रमण गर्नसक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका थिए ।
‘प्रधानमन्त्रीको स्वास्थ्यप्रति ख्याल राख्दै सबै नेताहरुले मास्क लगाएर बैठकमा उपस्थित हुनु भएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसका साथै नेपालका नेताहरु कोरोनाको संक्रमण नियन्त्रणप्रति सचेत हुनुन्छ भन्ने सन्देश पनि दिएको छ ।’नेताले दुरि कायम गरेर बस्नुमा पनि कोरोना भाइरसको विश्वव्यापी फैलावट प्रमुख कारण थियो । बैठकमा नेताहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई, चिकित्सकहरू र मृगौलादाताहरूलाई धन्यवाद दिएका छन् । यस्तै कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसइई परीक्षा स्थगित गर्ने र सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन पनि बैठकको निर्णमार्फत नेकपाले आग्रह गरेको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको निर्णयअनुरूपका निर्णयहरूप्रति बैठकमा नेताहरुले प्रशंसा गरेको थापाले जानकारी दिए ।





