पर्वत,७ चैत – कुस्मामा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा प्राध्यापकहरूले गरेको तालाबन्दी खुलेको छ । क्याम्पस सञ्चालक समिति र आन्दोलनरत प्राध्यापक तथा कर्मचारीबीच शुक्रबार भएको वार्तामा माग पुरा गर्ने सहमति भएपछि तालाबन्दी खुलेको प्रध्यापक संघका अध्यक्ष दीपेन्द्र न्यौपानेले बताए ।
क्याम्पसमा हरेक वर्ष विद्यार्थी संख्या घट्दै जाने विश्लेषण गरेर सोही अनुसारका कार्यक्रमहरू गर्ने, लामो समयदेखि प्राध्यापकहरूले नपाएको पारिश्रमिक उपलब्ध गराउने लगायतका सहमति भएपछि ताला खुलाइएको हो । क्याम्पसमा छोटो अवधिसम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधा र २० वर्षसम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधामा समेत विभेद रहेकोमा अब सबैलाई सुविधामा विभेद नगर्ने र अस्थायी प्राध्यापकहरूलाई क्याम्पसको विनियम संशोधन गरी स्थायी गर्ने सहमति पनि भएको वार्तामा सहभागी प्राध्यापकहरूले बताएका छन् ।
क्याम्पस सञ्चालक समितिका अनुसार कार्यरत प्राध्यापक तथा कर्मचारीको बाँकी तलब आवधिक रूपमा भुक्तानी गर्ने सहमति भएको छ । बाँकी रहेको ६ महिनाको तलब एक महिनाभित्र स्रोत व्यवस्थापन गरेर भुक्तानी गर्ने र बाँकी तलब असार सम्ममा भुक्तानी गरी सक्ने सहमति भएको सञ्चालक समितिका अध्यक्ष सुन्दर प्रसाद जोशीले बताए ।





