पर्वत, ११ चैत – पाका मानिसहरुलाई समेत बन्जी जम्पभन्दा मुटु नै काँप्छ । सानो सहास र आँट बिना बन्जी जम्प गर्न असम्भव छ । विश्वका अन्य देशमा बालबालिकाहरुले बन्जी जम्प गरेको यदाकदा सुनिने गरेको भएपनि हाम्रै सेरोफेरोमा आँट गरेको पाईएको थिएन ।
तर, पर्वतको कुश्मा नगरपालिका ४ घर भएकी एक बालिकाले भने पत्याउनै नसकिने गरी पर्वतको बन्जी जम्पबाट हाम फालेकी छिन् । उनले पहिलो महिला जम्परको रूपमा हाम फालेकी हुन् ।
कुस्मा नगरपालिका–४ निवासी नेपाली काँग्रेसका नेता युवराज जोशीकी छोरी यूरीसा जोशीले कालीगण्डकी नदीमाथि रहेको २ सय २८ अग्लो पुलबाट बन्जी जम्प गरेकी हुन् । स्थानीय कालीगण्डकी एकेडेमीमा अध्ययनरत यूरीसा एसईई परीक्षा दिन लागेकी विद्यार्थी हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी यूरीसाका ठुला बुबा (बुबाको दाजु) हुन् ।
नेपाल प्रहरीका असईहरूको कमाण्डो तालिमअन्तर्गत १ सय २५ जनाले बन्जी जम्प गरिरहेको परिवेशमा यूरीसाले पनि बन्जी जम्पको आँट गरेकी हुन् । जम्प गर्नुभन्दा पहिले डर लागेको भए पनि त्यसपछिको अनुभव अविस्मरणीय रहेको उनले बताइन् । ‘जम्प गर्नुभन्दा पहिले त डर लागेको थियो, सक्दिनँ की जस्तो पनि लाग्यो ।’ उनले भनिन, ‘जम्प गरेपछि खोलामा बगिरहेको पानी हेर्दै खोलातर्फ बढ्दा नौलो अनुभव भयो, आई लाईक दिस रिमारर्केवल मोमेन्ट । म फेरि पनि जम्प गर्नेछु ।’ बुबा युवराज जोशीले छोरीले बन्जीमा चासो देखाएर जम्प गर्ने सोच राखेपछि आफूmले पनि साहसिक हौसला दिएको बताए ।
यूरीसा अध्ययनरत कालीगण्डकी एकेडेमीका प्रिन्सिपल वसन्त कर्माचार्यले यूरीसा विद्यालयमा पनि निडर र साहसिक स्वभावकी विद्यार्थी भएको बताउँदै अनुशासन र मिहिनेत उनका गहना भएको बताए । –तस्बिर सौजन्य ः दिनेश तिवारी





