पर्वत, ११ चैत – कोरोना भाइरस संक्रमण हुनबाट जोगिनको लागि नेपाल विद्युत् प्राधिकरण पर्वतले फेसबुक र अनलाइनबाटै कारोबार सञ्चालन गर्न सुरु गरेको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीका अनुसार बिद्युतको महसुल बुझाउन तथा अन्य प्रयोजनका लागि दिइने निवेदन बुझाउन जाँदा मानिसहरूको भिडभाड हुने भएकोले कोरोना संक्रमणको त्रास रहने बेलासम्म उपभोक्ताले इन्टरनेटको माध्यमबाट कारोबार गर्ने व्यवस्था मिलाइएको हो ।
‘यो बेलामा मानिसहरूसँग भेटघाट गर्नु असुरक्षित भएकोले सेवाग्राहीहरूलाई घरमै बसिबसी हामीसँग जोडिन भनेका छौँ ।’ उनले भने, ‘उपभोक्ताहरूले फेसबुक पेजमा साथी बनेर त्यसमै निवेदन दिन सक्नुहुन्छ । अनलाइनबाट महसुल तिर्न सक्नुहुन्छ, तिरिरहनुभएको छ ।’ विद्युत् महसुल तिर्नको लागि यसअगाडि पनि अनलाइनको प्रयोग हुने गरेको थियो भने केन्द्रमा निवेदन दिनका लागि फेसबुकको प्रयोग गर्न सकिनुले सहज भएको छ ।
केन्द्रका अनुसार कुनै निवेदन दिनुपरेमा सेवाग्राहीहरूले निवेदनको फोटो खिचेर विद्युत् प्राधिकरण पर्वत शाखाको फेसबुक पेजमा पठाएपछि कर्मचारीहरूले त्यो निवेदन उपर कारबाही थाल्नेछन् । विद्युत् सेवा उपलब्ध नभएमा ग्राहक आइडी र फोन नम्बर, मिटर रिडिङ नभएमा ग्राहक आइडी र मिटरमा उठेको अङ्क टिपाउन वा म्यासेन्जरमा पठाउन सकिने छ । आफू रहेको ठाउँमा अनलाइन पे भएमा त्यसको प्रयोग गर्न सकिने तथा अनलाइन पे नभएमा कोरोनाको सन्त्रास हटेपछि एकैपटक सबै बिलहरू भुक्तान गर्न सकिने पनि पर्वत वितरण केन्द्रले बताएको छ ।





