आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

यो वेला : बच्‍ने र बचाउने बेला

यो वेला : बच्‍ने र बचाउने बेला

सरकारले यो गरेन, त्यो गरेन भनेर बस्ने बेला मात्र होइन। हामी नागरिक पनि उत्तिकै जिम्मेवार र सचेत हुनुपर्छ।


  • केकी अधिकारी
  • चैत्र १२ २०७६, बुधबार

सरकारले हिजो (मंगलबार) बाट लकडाउन गर्‍यो । मचाहिँ चार दिनदेखि सेल्फ–क्वारेन्टाइनमा छु । ‘परदेशी २’ को सुटिङमा पोखरा थिएँ, कोरोना भाइरसको त्रास फैलिएपछि सुटिङ रोक्यौं । सेल्फ क्वारेन्टाइन सुरु गर्दाचाहिँ हरेक दिन के गर्ने र कस्तो योजना बनाऊँजस्तो लागेको थियो, तर रुटिनले दिक्क लाग्ला भनेर योजना बनाइनँ। बिहान उठेपछि जे मन लाग्यो, त्यही गर्छु। लगातारको सुटिङ र अरू कार्यक्रमले लखतरान भइसकेको थिएँ, घरमा राम्रोसँग नबसेको महिनौं भइसकेको थियो। त्यसैले कोरोना भाइरसका कारण बाध्यतामा घर बस्नुपरेको यो समयलाई अवसरमा बदल्ने प्रयास गरेकी छु। कोरोनाबाट बच्न सुरक्षा विधि अपनाउनुबाहेक यसबारे अरू चिन्ता लिएकी छैन। अरूसँग दूरीमा बस्नु नै पर्याप्त रहेछ।
बुबा (निर्देशक बद्री अधिकारी) ले लगातार ९–१० वर्षदेखि बिहान योगा गर्नुहुन्छ। मलाई पनि गर्न मन लाग्थ्यो तर सुटिङले प्रायः घरबाहिरै हुने भएकाले अवसर जुरेको थिएन। अहिले बुबासँग बिहान एक घण्टा योगा गर्छु। मलाई माइग्रेनले सताउने भएकाले योगा आवश्यक छ। बुबा र मसँग भाइले पनि योगा सुरु गरेको छ। परिवारको साथ समय बिताउनुको आत्मिक आनन्द अनुभूति भइरहेको छ। सधैको हतारले परिवारमा खुलेर एकअर्कासँग कुरा गर्न नपाएको धेरै भएको थियो। अहिले मन हल्का भएको छ।
व्यस्तताले धेरै समयदेखि फिल्म हेर्न पाइरहेकी थिइनँ। मेरो बानी के छ भने स्तरीय सिनेमा हतारमा होइन, समय लिएर हेर्छु। ताकि हेर्नुअगाडि त्यो फिल्मबारे अध्ययन गर्ने अनि हेरिसकेपछि मन्थन गर्ने मौका मिलोस्। यो तरिका अपनाउँदा फिल्मबाट धेरै सिकिन्छ। पछि आफूले फिल्म खेल्दा, बनाउँदा त्यो सिकाइ उपयोगी हुन्छ भन्ने लोभ पनि होला। यो बसाइमा लियोनाद्रो डिकाप्रियोको ‘द ग्रेट ग्ट्यासबाई’ र वेन अफ्लेकको ‘ही इन नट् द्याट इन्टु यु’ हेरें। रोचक लाग्यो। ‘सी’ नामक सिरिज पनि सकाएँ। अहिले मेरो ध्यान धेरैभन्दा धेरै राम्रा फिल्म हेरौं भन्नेमा छ।
कोस्तानतिन स्थानिसलास्कीको ‘एन एक्टर प्रिपियर्स’ कलाकारले पढ्नैपर्ने पुस्तक मानिन्छ। मैले किनेर राखे पनि पढ्ने समय पाएको थिइनँ। अहिले सुरु गरिसकेँ। जति सुनेको थिएँ, त्योभन्दा ज्यादा उपयोगी लाग्दै छ। समय प्रशस्त भएकाले एकाग्र भएर पढिरहेको छु। कति बेला कसले फोन गर्ला र बाहिर निस्कनुपर्ला भन्ने तनाव नहुँदा दिमाग शान्त हुँदोरहेछ। गीत सुन्दा, सिनेमा हेर्दा, पढ्दा वा अरू जे काम गरे पनि मज्जा हुने।
सुरुको एक–दुई दिनसम्म कोरोनाको समाचारहरू खोजी–खोजी पढ्थे। जानकारीका लागि पढे पनि त्यसले दिमागमा नकारात्मक असर पर्दो रहेछ। डर पनि लाग्ने। जबकि सुरक्षा विधि अपनाएपछि र लक्षणबारे थाहा पाएपछि तनाव लिनु नपर्ने रहेछ। घरमा बस्नु नै सबैभन्दा सुरक्षित हो भनेपछि घरमै किन डराउने? त्यसैले आजकल ठिक्क मात्र अपडेट हुन्छु। त्यो पनि आधिकारिक र विश्वसनीय मिडिया मात्र।
फेसबुकमा ‘फ्रेस’ हुने पोस्ट गर्छु। आफू पनि त्यस्तै कन्टेन्टमा रमाउँछु। अब फेसबुक लाइभमा आएर किताब र सिनेमाबारे छलफल गर्ने, दिनभर के–के गरियो भनेर साथीहरूसँग सेयर गर्ने, सकारात्मक भाइब्स दिने कुराहरू गर्ने योजनामा छु। कोरोनाको तनाव लिएर बस्नुभन्दा एकअर्कासँग सम्बन्ध र सम्पर्क बढाउनु उपयुक्त हुन्छ। यसो गर्दा हामीभित्रको त्रास पनि हराउँछ।
सिर्जनशील मान्छेका लागि त यो विशेष समय हो। माहोल शान्त छ। कतै जान हतार छैन। लेख्ने, पढ्ने, चित्र कोर्ने, संगीत सिर्जना गर्ने, क्या दामी मौका ! म आफैं पनि केही लेख्दै छु। तरकारी काटकुट गर्न, खाना पस्कन, भाँडा माझ्न रमाइलो लाग्छ, आउँछ पनि। तर, खाना पकाउन आउँदैन। अहिले आमासँग खाना पकाउन सिक्दै छु। त्यसैले मलाई घरमा थुनिएको आभास भएकै छैन, हरेक पल ‘इन्जोय’ गरिराछु। उपलब्धिमूलक बनाउन प्रयासरत छु।
‘परदेशी २’ को सुटिङ अवरुद्ध भयो। विज्ञापन र म्युजिक भिडियो पनि सुटिङ हुन पाएन। ‘कमेडी च्याम्पियन’ को वर्ल्ड टुर पोस्टपोन्ड भयो। तर, चिन्ता लिएकी छैन। हामी बचे मात्र पछि काम गर्न सकिन्छ। यो महामारीले हामीलाई सचेत हुने मौका पनि दिएको छ।
सरकारले १८ गतेसम्म लकडाउन गरेको छ। परिस्थिति हेरेर त्यो थपिन पनि सक्ला वा पूरै खुल्न सक्ला, सरकारले जे निर्णय गरे पनि पछ्याउनुपर्छ। सरकारले यो गरेन, त्यो गरेन भनेर बस्ने बेला मात्र होइन। हामी नागरिक पनि उत्तिकै जिम्मेवार र सचेत हुनुपर्छ। आफू बच्ने र अरूलाई बचाउने समय हो यो। प्रस्तुति : गोकर्ण गौतम

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->