पर्वत, १८ चैत– कोरोना भाइरस (कोभिड १९) को लक डाउनका कारण समस्यामा परेका गरिब तथा मजदुरहरूलाई राष्ट्रिय युवा संघ पर्वतले गरिब, बिपन्न तथा मजदुरलाई खाद्यान्न सामग्रीहरू वितरण गरेको छ । लकडाउन भइरहेको बेलामा मजदुरी गर्न नपाएको अवस्थामा उनीहरूलाई बिहान–बेलुकाको छाक टार्न नै समस्या परेपछि सदरमुकाम कुस्मा बजारमा बस्दै आएका श्रमिकहरूलाई चामल, दाल, नुन र तेल वितरण गरिएको युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले बताए ।
‘लकडाउनका बेलामा पैसा भएकाहरूले त घरभित्रै बसेर पनि खाइरहेका छन् ।’ उनले भने, ‘दैनिक छाक टार्नेहरू भने समस्यामा थिए, उनीहरूको चुलो बल्ने अवस्था नरहेका कारण यो सहयोग गरेका हौँ ।’ उनका अनुसार, मजदुरहरूको पहिचान गरी वितरण गर्नको लागि मुस्लिम सेवा समाजलाई चार बोरा चामल, मिठु सुवेदी, समशुल हक मिया र भगवती कुमालको परिवारलाई एक÷एक बोरा चामल, दाल र नुन वितरण गरिएको छ ।
यस्तै, स्याङ्जाबाट कुस्मामा बसेर ज्याला मजदुरी गर्दै आएका मनोज जिटीको ३ जनाको परिवारलाई पन्ध्र किलो चामल, नुन र तेल, म्याग्दी घर भई कुस्मामा बस्दै आएका टेकबहादुर बिकको छ जनाको परिवारलाई तीस किलो चामल, नुन र तेल हस्तान्तरण गरिएको छ । सहयोग स्वरूप हस्तान्तरण गरिएका उक्त खाद्य सामग्रीहरू सदरमुकाम कुस्मा बजारमा रहेका केही निजी विद्यालय र केही खाद्य पसलहरूले उपलब्ध गराएका थिए ।
खाद्य सामग्रीहरू नेकपा कुस्मा नगर कमिटीका सचिव मीनप्रसाद श्रेष्ठ, नेकपा कुस्मा नगरपालिका ५ का अध्यक्ष भीमप्रसाद श्रेष्ठ, नेपाल तरुण दल कुस्मा नगर समितिका अध्यक्ष सुवर्ण अर्याल, युवा सङ्घ पर्वतका संस्थापक अध्यक्ष मेघनाथ सुवेदी, नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका सञ्चालक यमप्रसाद शर्मा लगायतले हस्तान्तरण गरेका थिए ।





