म्याग्दी, १८ चैत – बेनी नगरपालिका–६ मा रहेको गुफाबाट एक जना चिनियाँ नागरिकलाई मंगलबार उद्धार गरिएको छ । करिब दुई महिनाअघि भिजिट भिषामा नेपालमा आएका चिनियाँ नागरिकलाई बेनपा–५ पुलाचौरको धार्मिकस्थल पौल्स्त्य आश्रममबाट फर्किने क्रममा अर्थुङे सामुदायिक यूवा क्लबले उद्धार गरेको अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।
‘गाउँमा अपरिचित ब्यक्ति प्रवेशको खबरलगत्तै खोजीकार्यमा पुगेका थियौं, ‘हामीले उहाँलाई सम्मानपूर्वक प्रहरीको जिम्मा लगाएका छौ’ पौडेलले भने ।
उनले चिनका पर्यटकबाट गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई ख्याल गरेर प्रहरीको जिम्मा लगाइएको बताए । पौलस्त्य आश्रमममा एक विदेशी रहेको जानकारी पाएपछि गाउँले समेत त्रसित भएका थिए । यसअघि म्याग्दीकै रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट दुई जना चिनियाँ पर्यटकको उद्धार गरिएको थियो ।





