पोखरा, २१ चैत – विश्व कोरोनाको मारमा परेसंगै लकडाउनको चपेटामा परेको नेपालमा यतिबेला विपन्न वर्ग तथा दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएका परिवारहरुको लागि विभिन्न प्याकेजको योजना ल्याइएको छ ।
पोखरा महानगरपालिकाले पनि महानगरमा कोही पनि भोकै नहोस भनि विपन्न वर्ग, ज्यालादारी, घर भाडामा बस्ने गरिब परिवारको लागि राहत प्याकेजको योजना ल्याएको छ । तरपनि अधिकांश वडाहरुमा राहत लिन हुनेखानेदेखि नहुने सम्मको सहभागिता देखियो ।
पोखरा महानगरपालिका वडा नं. ११ मा ढलान घर भएका र आर्थिक अवस्थामा पनि सम्पन्न व्यक्तिले नै राहतको प्याकेज लगेको स्रोतको दाबी छ । स्रोतका अनुसार, उसलाई नपुग्ने केही छैन तर पनि राहत लगे । वडा ६ मा पनि राहत वितरणमा चुनौती आउने स्रोतको दाबी छ ।
यस्तै, पोखरा महानगरपालिका वडा नं.५ मा राहन प्याकेजको लागि १ हजार ५ सयभन्दा बढिले नामावली दर्ता गराएका छन् । पेन्सन लिने, घरभाडामा दिनेदेखि एकै परिवारले समेत छुट्टै नाम लेखाएका छन् ।
विपन्न भनि नाम लेखाउने निकै धेरै रहेको पोखरा महानगरपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बताए । “विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोनाले प्रविधिक रुपमा विकसित राष्ट्रहरुमा विपद् आइपरेको छ, हामीले रोकथाम तथा नियन्त्रणको लागि अवसर पाएका छौ । सरकारले यसलाई गम्भीर रुपमा लिएको छ” प्रवक्ता नेपालीले भने । सरकारले महत्वपुर्ण निर्णय लिएर लकडाउन ग¥यो । तर लकडाउनले भोकमारी ल्याउन सक्ने समस्या देखियो यस्का लागी राज्यले राहत प्याकेज समेत वितरण गरेको उनले बताए ।
संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अति विपन्न, दैनिक ज्यादारी र असहाय परिवारको लागि राहत प्याकेज ल्याएपनि राहत वितरण प्रणालीमा समेत निकै चुनौती आएको बताए । “पोखरा महानगरले विपन्न असाहाय, सुत्केरी, दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने वर्गको लागि राहत ल्याएको हो तर पेन्सन लिनेदेखि घरभाडामा दिनेसम्मले समेत नाम सिफारिस गरेको पाइयो” प्रवक्ता नेपालीले भने । “यस्तो चुनौती वडा ५ मा मात्र होइन महानगरका धेरै वडामा छ, हामीले सुक्ष्म तरिकाले यस्को लागि छनोट गर्ने तयारी गरेका छौँ र वास्तविक विपन्न वर्गलाई नै हामीले राहत दिने छौँ” उनले भने ।
वडा सदस्यसहितको १० टोली बनाएर प्रत्येक घरघरमा पुगेर डाटा तयार गर्ने काम अघि बढाउने जानकारी उनले दिए । राहतको लोभले आएकाहरुको कारणले राहत वितरण प्रणालीमा निकै चुनौती थपिएको उनले बताए । प्रत्येक टोल टोलमा पुगि नामावली जाचँ गरिने उनले बताए ।





